Thu. May 16th, 2024

अध्यक्ष तिमिल्सिना र सिपीसिसीका अध्यक्ष हु निङबीच भेटवार्ता   

काठमाण्डू, २०८० जेठ ३० गते मंगलबार । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हु निङबीच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिना र परामर्शदात्री सम्मेलनका अध्यक्ष हु निङबीच आज ग्रेट हल अफ पिपुल्समा भेटवार्ता भएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको र भविष्यमा पनि नेपाल एक चीन नीतिकै पक्षमा प्रतिबद्ध रहने बताउनुभयो । “नेपाली भूमिको दुरुपयोग गरी चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढरूपमा अडिग छौँ”, उहाँले भन्नुभयो ।

नेपाल र चीनबीच सदियौँदेखि सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी वर्षमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जानेमा आफू विश्वस्त रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

भेटमा परामर्शदात्री सम्मेलनका अध्यक्ष हु निङले नेपालमा चीन विरोधी गतिविधि नहोस् भन्ने चीनको चाहना रहेको बताउनुभयो । उहाँले नेपाल र चीन दुई देशबीच कूटनीतिक सम्बन्ध प्रगाढ बनाउनका लागि दुई देशका राजनीतिक तहमा भ्रमण आदानप्रदान गरिने बताउँदै चीन छिमेकी देशसँग मैत्री, पारस्परिक लाभ हुने काम गर्न तयार छ भन्नुभयो ।

अध्यक्ष तिमिल्सिनासहितको नौ सदस्यीय प्रतिनिधिमण्डलले आजै पैचिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओको समाधिस्थलमा पुगेर पुष्पार्पण गरेको थियो । अध्यक्ष तिमिल्सिनाले तिब्बतमा असार १ र २ गते आयोजना हुने एक्स्पोलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

Facebook Comments