Wed. Apr 24th, 2024

उपत्यकामा १४ हजार ग्यास सिलिण्डर थपिँदै

काठमाडौं, २०७६ फागुण २४ गते शनिबार

खाना पकाउने एलपी ग्यास नपाइने त्रासमा काठमाडौंको अनामनगरमा उपभोक्ताहरु शुक्रबार लाइनमा बसे । चार वर्षअघि भारतले लगाएको अघोषित नाकाबन्दीपछि पहिलोपटक यसरी उपभोक्ताहरु सिलिण्डर बोकेर लाइनमा बसेका हुन् ।

अब ग्यास पाइँदैन कि भन्ने त्रास आम जनतामा छायो । कोरानाका कारण नाकाबन्दीमा जस्तै ग्यासको अभाव हुने डरले आफूसँग रहेको रित्तो सिलिण्डर भर्न लाइनमा बसेको उनीहरुले बताए ।

मुलकभर ५९ वटा ग्यास उद्योगले उपभोक्तालाई ग्यास बिक्री गर्छ । तर, शुक्रबार लाईनमा बस्ने उपभोक्ताले नेपाल ग्यास कम्पनीको रित्तो सिलिण्डर बोकेका थिए ।

नेपाल ग्यासमै किन लाइन ?

काठमाडौं उपत्याकामा सबैभन्दा धेरै सिलिण्डर र डिपो सञ्जाल भएको ग्यास बिके्रता कम्पनी नेपाल ग्यास प्रालि हो । यो कम्पनीसँग उपत्यकामा मात्रै साढे ६ लाख वटा सिलिण्डर रहेको कम्पनीका प्रमुख गोकुलप्रसाद भण्डारीको दाबी छ ।

काठमाडौं उपत्यकाभित्र कम्पनीका ६ सय वटा ग्यास बिक्रेता डिलर छन् । कम्पनीले हरेक दिन दैनिक साढे ८ हजार भरिएका सिलिण्डर बजारमा पठाउने गरेको भण्डारी बताउँछन् ।

अन्य ग्यासको तुलनामा सजिलै र नजिकको दुरीमा पाइने भएपछि काठमाडौंको धेरै उपभोक्तामा नेपाल ग्यासप्रति आकर्षण रहेको भण्डारीको दाबी छ ।

‘अन्य कम्पनीको सिलिण्डर भएका ग्राहकसँग पनि वैकल्पिकमा नेपाल ग्यासको सिलिण्डर छ,’ उनले थपे ‘अहिले खाली रहेको त्यही सिलिण्डर भर्न उपभोक्ताहरु लाइनमा बसेका हुन् ।’

बिक्रेताको आग्रह लाइन नबस्नुस्

नेपाल ग्यासले खालि सिलिण्डर बोकेर लाईन लाग्न नआउन आफ्ना उपभोक्तालाई अनुरोध गरेको छ । कम्पनीले मासिक २६ सय टन ग्यास बिक्री गर्ने गरेको र यसमा कुनै कमि नभएको कम्पनीले स्पष्ट पारेको छ ।

‘हामीले आफ्नो क्षमता अनुसारको आयात र बिक्रि नियमित रुपमा गरिरहेका छौं, खाली सिलिण्डरले आतंक सिर्जना नगरिदिनुस् ग्यास उपलब्ध हुन्छ’ कम्पनीका प्रमुख भण्डारीले अनलाइनखबरसँग भने ।

भारतबाट ग्यास आयातमा कुनै समस्या नभएको भन्दै उनले अनावश्यक रुपमा ग्यास भण्डारण गरेर जोखिम नबढाउन पनि उपभोक्तालाई आग्रह गरे ।

नेपाल ग्यासले सबै उपभोक्तालाई नियमितरुपमा ग्यास दिने भन्दै भण्डारीले ग्यास नपाइने त्रास त्याग्न उपभोक्तालाई सुझाए ।

नाकाबन्दी र अहिलेको अवस्था विल्कुल फरक रहेको उनले बताए ।

शनिबारदेखि उपत्यकाकेन्द्रित वितरण बढ्ने

ग्यास पाइन्न कि भन्ने त्रास उपभोक्तामा देखिएपछि वितरणलाई बढाउन निर्देशन जारी गरिएको नेपाल आयल निगमले जनाएको छ । उपत्यकामा दैनिक ३० हजार सिलिण्डर भरिएका ग्यास वितरण भइरहेकोमा शनिबारदेखि सबै कम्पनीको गरेर थप १४ हजार, अर्थात ४४ हजार सिलिण्डर पठाइने निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए ।

‘बजारमा काल्पनिक त्रास देखियो यो चिर्नका लागि वितरण शनिबारबाट बढ्छ, बढीमा दुई तीन दिनमा उपत्यकाका कुनै पनि ग्राहकका सिलिण्डर रित्तो रहने छैन् ।’ कार्यकारी निर्देशक पौडेलले दाबी गरे ।

निगमका अनुसार अघिल्लो वर्ष जाडो महिनामा ३५ हजार ५६४ मेक्ट्रिटन ग्यास खपत भएको थियो । यस वर्ष फेबु्रअरीसम्म ४१ हजार ११५ मेक्ट्रिटन ग्यास आयात भएको र अहिलेको महिनामा पनि आवश्याक भन्दा ५ हजार मेक्ट्रिकटन बढी ग्यास मगाइएको भन्दै निगमले कुनै अभाव नहुने स्पष्ट पारेको छ ।

गर्मी बढेसँगै ग्यासको खपत पनि घट्ने र आयातमा कुनै संकुचन नरहेकाले इन्धनको जोखिमपूर्ण भण्डारण नगर्न निगमले अपील गरेको छ । अनलाईन खवरबाट

Facebook Comments