Fri. Apr 26th, 2024

बाउबाजेको पालाको ऋणले थिच्याे, गाउँ नै छाडन वाध्य

काठमाडौं, २०७६ फागुण २३ गते शुक्रबार

बाजेको पालादेखि साहुको ऋण बोक्दै आउनुभएका जाजरकोट भेरी नगरपालिका वडा नं ११ कट्टिगाउँका दलित समुदाय ऋण तिर्न नसेर गाउँ छोडेर बिस्थापित भएका छन् । बाबु, बाजेको पालादेखि साहुबाट लिएको ऋणको व्याज तिर्नपनि जीवन भरको को कमाइले पुग्न नसक्ने भएपछि दलित समुदाय गाउँ छोड्न बाध्य भएको हो ।

वडा सदस्य नन्दबहादुर बिकले साहुको ऋण तिर्न नसकेर आफ्नो घरजग्गा साहुलाई दिएर धर्मबहादुर वर पाँच जनाको परिवारसहित भारततिर जानुभएको बताउनुभयो । उहाँका अनुसार दुई बर्ष पहिला कट्टीगाउँ छोडेका धर्मबहादुर अहिले भारतको कुन ठाउँमा हुनुहुन्छ ? कुनै पत्ता लाग्न सकेको छैन ।

वर जस्तै गोब्लो लुहारले पनि एक बर्ष पहिला घरजग्गा साहुलाई दिएर गाउँ छोडी सक्नुभएको छ । ६ जनाको परिवारसहित कट्टीगाउँ छोड्नुभएका लुहारले बर्दिया कोठियाघाटको ऐलानी जग्गा खनेर बसोबास गरिरहेको उहाँका छिमेकीले जानकारी दिनुभयो । यस्तै वीरभान वरको परिवार पनि ६ महिना पहिला गाउँ छोडेको छ । ऋण तिर्न नसकेपछि घरजग्गा साहुलाई दिएर चार जना परिवार कट्टीगाउँ छोडेर भारत जानुभए पनि अहिलेसम्म उहाँहरुको अवस्थावारे केही पत्ता लाग्न सकेको छैन ।

सोही ठाउँका मागे सुनार पनि ऋण तिर्न नसकेकै कारण घरजग्गा साहुकै नाममा नामसारी गरेर परिवारसहित भारत पस्नुभएको छ । चार महिना पहिले चार जनाको परिवारले गाउँ छोडेको थियो । उहाँको अवस्था पनि अज्ञात छ ।

साहुको ऋण तिर्न नसकेर गाउँअ छोड्न बाध्य भएका यी त प्रतिनिधि उदाहरण मात्र हुन् । कट्टीगाउँका १२० घरधुरीका दलित समुदाय मध्ये धेरैजसोले साहुबाट ऋण लिएका छन् । वडा सदस्य नन्दबहादुर विकका अनुसार साहुबाट पाँचलाख देखि आठ लाखसम्म ऋण नलिने कोही छैनन् ।

दलित अगुवा तथा भेरी नगरपालिकाका नगरकार्यपालिका सदस्य पार्वती विकले यहाँका दलित समुदाय बत्तीमुनिको अँध्यारो भएको र त्यस समुदायका लागि राज्यले विशेष कार्यक्रम संचालन गरी आयआर्जनको माध्यमबाट आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । उहाँले विगतमा त्यस्तो अवस्था भए पनि आगामी दिनमा भारत पलायन हुन नदिन विभिन्न रोजगार मूलक कार्यक्रम स्थानीय तहले ल्याउने जानकारी दिनुभयो ।

हालसम्म कट्टीगाउँबाट सरकारी जागिर खानेहरू मध्येका दिपक बिकमात्र एक जना हुनुहुन्छ । २०६० सालमा नेपाली सेनाको जवानमा भर्ती हुनुभएका दीपकले जागिर खाएपछि भेरी नगरपालिका–१३ कुदुमा घरजग्गा किनेर बसाई सराई गरिसक्नु भएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments