Fri. Sep 20th, 2024

अबको परिवर्तित गन्तव्य समृद्धि हो-प्रधानमन्त्री

काठमाडौं, २०७६ फागुण ११ गते आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवीबाट समृद्धितर्फको यात्रा थालनी भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले विकास र समृद्धिसम्बन्धी दृष्टिकोण संग्रहित आफ्नो पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक कार्यक्रममा भन्नुभयो, “निरंकुशताबाट लोकतन्त्रको यात्रा सम्पन्न भएको छ । अबको परिवर्तित गन्तव्य समृद्धि हो ।”

उहाँले विकासको सामथ्र्यको रुपमा प्राकृतिक स्रोत साधन, युवा श्रमशक्ति मुलुकमा भए पनि मुलुकमा विकासको स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीमा दृष्टिकोण आवश्यक छ । त्यसलाई कार्यान्वयन गर्न योजना, कार्यक्रम चाहिन्छ । प्रतिबद्धता र प्रभावकारी कार्यान्वयनको आवश्यकता छ । उहाँले मुलुकको समृद्धिका लागि सन्तुलित, प्रभावकारी र उचित प्रकारको छिमेक र वैदेशिक सम्बन्ध विकास गर्न समेत आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई भिन्न राजनीतिक, सामाजिक र आर्थिक प्रवृत्तिका छिमेकी छन् । दुईवटा छिमेकीसँग मुख्य रुपमा सन्तुलन मिलाउने ठूलो कुरा होइन । हामी सन्तुलन, सार्वभौम, पारस्परिक लाभ र सम्मानका आधारमा जानुपर्छ ।” उहाँले सार्वभौमसत्ता जनतामा रहेको राजनीतिक प्रणाली मुलुकमा स्थापित गरिएकाले मुलुकको विकासमा ढंग पुर्याउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले साधन स्रोतको उपयोग गर्न सक्ने, समुचित प्रयोग गर्नसक्ने गरी शिक्षा, तालिमका क्षेत्रतिर ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले तानाशाहीदेखि लोकतन्त्रसम्मको राजनीतिक, सामाजिक अवस्था देखेको र भोगेको चर्चा गर्दै उत्पादन र वितरणमा समुचित व्यवस्थापन गर्न नसकिएका कारणले मुलुकले विगतमा आर्थिक समृद्धि हासिल गर्न नसकेको बताउनुभयो ।

उहाँले केही वर्षभित्रै मुलुकमा आवासविहीन भन्ने नै रहन नदिने भन्दै अव्यवस्थाकै कारण ढुंगा, माटो, बाँस, काठ, खर, पराल भएर पनि कतिपय नागरिकको घर नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “विकासका सम्भावनाहरु छन् । हामीसँग प्रकृति अत्यन्तै उर्वर, समृद्ध छँदैछ । हिमाल, पहाड, तराई चुरेलगायतको विविधतायुक्त हावापानी, वनस्पति, जीवजन्तु छन् ।

दीगो विकासका निम्ति यसको खास अर्थ छ ।” उहाँले प्राकृतिक स्रोत र साधनको वैज्ञानिक उपयोगबाट दीगो विकासमा जान सकिने र जसले भविश्यमा कुनै पनि खालको आर्थिक संकट टार्ने बताउनुभयो । उहाँले सार्वजनिक पुस्तकमा अबको नेपाल कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोणहरु प्रस्तुत गरेको भन्दै प्राकृतिक स्रोत साधनको समुचित प्रयोग गर्न सक्नेगरी मानव स्रोत साधनको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकको विकासमा सहयोगी र शुभेच्छुकको सहयोग लिदै लगानीकर्तालाई अनुकूल र लगानीमैत्री वातावरण बनाउँदै विकास केन्द्रित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लगानी बृद्धिले रोजगारी सिर्जना, उत्पादकत्व बृद्धि, आत्मनिर्भरतर्फ अग्रसर बन्दै निर्यात बृद्धितिर जान सकिन्छ । आयातकर्ता होइन निर्यात कर्ता देशका रुपमा मुलुकलाई बदल्न आवश्यक छ ।”

उहाँले लोकतन्त्रलाई राजनीतिक अधिकारको रुपमा मात्र होइन सम्पूर्ण रुपमा अधिकारको प्राप्ति, अधिकारसम्म पुग्ने पहुँचको व्यवस्था, सबैले सुरक्षित र सम्मानित जीवन विताउन पाउने, सामाजिक न्याय र समानतासहितको समृद्धिका रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले रासायनिक पदार्थ मिसिएका पेय पदार्थ आयात गर्दा नेपालीको स्वास्थ्य र अर्थतन्त्रसमेत बिगारेको प्रसङ्ग चर्चा गर्दै हामीले आफ्नो आनीवानी पनि बदल्न जरुरी रहेको बताउनुभयो ।

उहाँले पुस्तक पढेर टिप्पणी गर्न, विचारलाई मरिमार्जित र परिस्कृत बनाउन विद्वान वर्गमा आग्रह गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ पुस्तक राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले बालुवाटारमा शनिबार सार्वजनिक गर्नुभएको हो । पुस्तकमा भिजन एन्ड एक्सन, फेन्डसीप एन्ड डिप्लोमेसी, ट्रेड एन्ड इन्भेस्टमेन्ट, वर्क एन्ड लेवरगरी चार खण्ड रहेका छन् । पुस्तकमाथि डा.विन्दु लोहनी र डा.शम्भुराम सिंखडाले चर्चा गर्नुभएको थियो । पुस्तक रत्नपुस्तक भण्डारले प्रकाशन गरेको हो । गोरखापत्र अनलाईनबाट

Facebook Comments