Fri. Apr 19th, 2024

कोरोनासँगको लडाइँमा चीनको साथ : ज्ञवाली

काठमाडौं, २०७६ फागुण ८ गते बिहीबार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनमा व्याप्त कोरोना भाइरस (कोभिड–१९)सँगको लडाइँका क्रममा चीनले गरिरहेको प्रयासमा नेपाल सधैँ साथ रहेको बताउनु भएको छ ।

“चिनियाँ जनता, सरकार र त्यहाँको स्वास्थ्यकर्मी उच्च दक्षताका साथ जुन दृढ सङ्कल्पले लडिरहेका छन्, नेपाल सरकारले त्यो कठोर प्रयत्न र उच्च दक्षताको सराहना गर्न चाहन्छ,” उहाँले भन्नुभयो । बङ्गलादेशको दुईदिने भ्रमण सकेर बुधबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले चीनलाई परिरहेको सङ्कटमा नेपाल सधँै साथ रहने औँल्याउनुभयो ।

कोराना भाइरसविरुद्ध चीन लडिरहँदा त्यसको प्रकोपमा परेका धेरै बिरामी निको हुँदै घर फर्र्कनुले नियन्त्रण प्रक्रिया सुरु भएको अनुभूति दिएको उहाँले प्रस्ट्याउनुुभयो । भाइरसका कारण मर्नेको सङ्ख्याभन्दा निको भएर घर फर्कनेको सङ्ख्याले उछिन्नु र थप सङ्क्रमित हुनेको सङ्ख्याको अनुपात पनि घट्दै जानु त्यसको सङ्केत रहेको मन्त्री ज्ञवालीको भनाइ छ ।

कोरोना भाइरसका कारण नेपालमा आउँदो चैतमा हुने सगरमाथा संवाद शृङ्खलालाई कुनै खालको प्रभाव नपार्ने उहाँले प्रस्ट्याउनुभयो । आउने अतिथि सबैसँग परराष्ट्र मन्त्रालय सम्पर्कमै रहेको जानकारी दिँदै मन्त्री ज्ञवालीले सबैले आउने स्पष्ट पत्र पठाइसकेको उल्लेख गर्नुभयो । उहाँका अनुसार बाँकी रहेकासँग पनि निरन्तर कुरा भइरहेको छ । नेपालले जलवायु परिवर्तन र मानव जातिको भविष्यका बारेमा विश्वव्यापी अवधारणा निर्माण गर्दै समाधानको पहलमा सघाउन सगरमाथा संवाद आयोजना गर्न लागेको हो ।

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा नेपाल–भारत सीमा समस्या वार्ताबाटै पहल गर्ने कुरामा भारतले सहमति जनाएकाले त्यसमा कुनै शङ्का नरहेको मन्त्री ज्ञवालीले स्पष्ट पार्नुभयो । नयाँ वार्ताको मिति नेपालले पर्खिरहेको भन्दै उहाँले छिट्टै नै त्यो भारतले पठाउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री ज्ञवालीले एमसीसीको थप अध्ययन गर्न बनेको कार्यदलको म्याद फेरि थप गरी काम गरिरहेको जानकारी दिनुभयो ।

बङ्गलादेशको भ्रमण फलदायी
मन्त्री ज्ञवालीले बङ्गलादेशको भ्रमण फलदायी रहेको जानकारी दिनुभयो । उहाँ यही फागुन ५ गते बङ्गलादेश भ्रमणमा जानुभएको हो । बङ्गलादेशका प्रधानमन्त्रीसँग भएको द्विपक्षीय वार्तामा नेपाल र बङ्गलादेशबीचको राजनीतिक सम्बन्धलाई सुदृढ गर्दै आर्थिक सम्बन्धलाई गहिरो बनाउने समझदारी भएको उहाँले जानकारी दिनुभयो । “जलविद्युत्लगायत ऊर्जाका स्रोतहरूको विकास एवं व्यापार गर्ने विषयमा पनि बङ्गलादेशसँग सहमति भएको छ,” मन्त्री ज्ञवालीले भन्नुभयो, “बङ्गलादेशका वाणिज्यमन्त्री टिपु मुन्सीसँगको भेटमा नेपाल र बङ्गलादेश निर्यात प्रवद्र्धन तथा दुवै मुलुकबीच कनेक्टिभिटी वृद्धि गर्नेबारेमा छलफल भयो ।”

त्यस क्रममा दुई देशबीचको व्यापार प्रवद्र्धन र सन्तुलित बनाउन थप व्यापार सम्भाव्यता खोजी गर्ने, अवरोधहरू हटाउने, शुल्क घटाउने र नयाँ निर्यातयोग्य वस्तुहरूको उत्पादन वृद्धि गर्ने सहमति दुई देशबीच भएको छ ।

नेपालको ऊर्जा, कृषि, पर्यटनजस्ता क्षेत्रमा बङ्गलादेशको लगानी अभिवृद्धि गर्ने समझदारी बनेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई देशबीचको कनेक्टिभिटीलाई अझ विस्तार गर्न नजिक रहेका सहरबीच सीधा हवाई उडान गर्ने, सडक मार्गको सुधार तथा स्तरोन्नति गर्ने, रेलमार्ग सञ्जाल विस्तार गर्ने, नेपाल, भारत र बङ्गलादेशका नदीहरू जोड्ने र जलमार्गको विकास गर्ने समझदारी पनि बङ्गलादेशसँग भएको छ ।

नेपालभित्रका नदीको सञ्जाल जोड्दै एकीकृत रूपमा विद्युत् उत्पादन र त्यसको बङ्गलादेशलगायत अन्य देशमा व्यापार गर्न सरकारले तयारी गरिरहेको जानकारी उहाँले दिनुभयो । शैक्षिक क्षेत्रमा सम्बन्ध सुदृढ गर्दै बङ्गलादेशमा अध्ययनरत विद्यार्थीलाई थप सहयोग उपलब्ध गराउने, जनसम्बन्ध विस्तार गर्नेबारेमा पनि दुई देशबीच समझदारी भएको छ । सगरमाथा संवादमा बङ्गलादेशको उच्च तहको सहभागिताका लागि नेपाल सरकारका तर्फबाट मन्त्री ज्ञवालीले निमन्त्रणा दिनुभएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments