Thu. Apr 25th, 2024

माओको मास्क लगाइएको फोटो प्रकाशनप्रति चाइना मिडिया ग्रुपको आपत्ति

काठमाडौं, २०७६ फागुण ६ गते मंगलबार

नेपाली संचार क्षेत्रको अग्रणी कान्तिपुर संचारगृह अन्तर्गत द काठमाण्डु पोस्टले फेब्रुअरी १८ तारिख प्रकाशित गरेको फोटोप्रति चाइना मिडिया ग्रुप (सीएमजी)ले आपत्ति जनाएको छ। ‘चाइना सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स्ट’ शीर्षकको लेखमा १०० आरएमबीमा अंकित नयाँ चीनका प्रणेता माओ च तोङको फोटोमा मास्क टाँसिएको छ। चीनले आफ्ना नेताप्रति उच्च आदरभाव राख्ने बताउँदै नेपालस्थित सीएमजीका पत्रकार चाङ् युए(वर्षा)ले यस्तो फोटोबाट चिनियाँमाथि अपमान भएको उल्लेख गर्नुभएको हो।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएबाट यसबाट बच्नका लागि हाल चिनियाँहरूले मात्रै नभएर विश्व स्वास्थ्य संगठनको अपिल बमोजिम जो कोहीले मास्क लगाउने गरेका छन्। संवाददाता चाङ् युएले एउटा भिडियोमा मास्क लगाउँदै भन्नुभयो, ‘यदि फोटो चाहिएको भए मेरो फोटो निःशूल्क प्रयोग गर्नुहोस् वा इन्टरनेटबाट खोज्नुहोस्।’

नेपाल र चीनबीचको सम्बन्ध निकै राम्रो हुँदाहुँदै पनि एउटा ठूलो राष्ट्रिय दैनिकबाट भएको कमजोरीप्रति खेद व्यक्त गर्दै पश्चिमा संचारमाध्यमको लहैलहैमा लागेर नकारात्मक भावना फैलिने खालका सामग्री चिनियाँका लागि स्वीकार्य नहुने संवाददाताले उल्लेख गर्नुभएको छ।

चाङ् युए(वर्षा)कोे बक्तब्य जस्ताको तस्तै

आदरणीय सम्पादकज्यू

द काठमाण्डु पोस्ट

नेपालको संचार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको कान्तिपुर संचारगृहबाट प्रकाशित द काठमाडु पोष्टको यही फागुन ६ गते मंगलबार तदनुसार फेब्रुअरी १८ तारिख प्रकाशित ‘चाइना सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच ओर्स’ शीर्षकको लेखले हामी सबै चिनियाँको अपमान गरेको छ। विदेशी संचारमाध्यममा पहिले नै प्रकाशित लेख भएकाले लेखको बारेमा भन्दा पनि त्यसमा प्रकाशित फोटो आपत्तिजनक छ।

अध्यक्ष माओ च तोङलाई सम्पूर्ण चिनियाँ जनताले उच्च सम्मान र आदर गर्छन्। चिनियाँ जनबैंकले निस्काशन गरेको मुद्रामा आदरणीय अध्यक्ष माओ च तोङको फोटो राखिएको हुन्छ। तपाईंको पत्रिकाले चिनियाँ मुद्रा एक सय युआनको नोटमा अंकित अध्यक्ष माओको फोटोमा मास्क लगाएर चीनको सार्वभौमिकता र चीनप्रतिको घोर अपमान गर्नु भएको छ। यतिबेला चीन कोरोना भाइरसको संक्रमण विरुद्धको युद्धमा दत्तचित्तले लागिरहेको छ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सबै चिनियाँहरुले मास्क लगाउने गरेका छन्।

चिनियाँले मात्र होइन अहिले विश्वका अधिकांश भागमा मास्क लगाउनलाई विश्व स्वास्थ्य संगठनले सबैलाई अपिल गरेको छ। तपाईंलाई चिनियाँले मास्क लगाएको फोटो चाहिएको भए म दिन सक्छु। अथवा इन्टरनेटबाट जतिसुकै खोज्न सक्नुहुन्छ। आधुनिक चीनका महान नेताको अपमान गरेर पत्रिकामा प्रकाशन गर्नु नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई पनि धक्का लगाउनु हो। चीन र चिनियाँलाई घोर अपमान गर्नु हो। हामी चिनियाँहरु नेपाल र नेपालीलाई उच्च सम्मान र माया गर्छौँ ।

नेपाल र नेपालीले भोगेका विपत्तिहरुमा चीन र चिनियाँले सक्तो सहयोग गरेकै छन् । कोरोना भाइरसको विद्धरुमा नेपालीहरुले पनि आआफ्नो ठाउँबाट चीन र चिनियाँलाई सहयोग र समर्थन जनाएका छन्। तर एउटा ठूलो राष्ट्रिय दैनिक पत्रिकाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई ख्याल नगरिकन यस प्रकारको फोटो अथवा स्केच प्रकाशन गरेकोमा म खेद प्रकट गर्दछु र यस प्रकारका कार्यको दृढताका साथ विरोध र प्रतिवाद गर्दछु। रोग र संक्रमणको कुनै भौगोलिक सिमा हुँदैन।

रोग र विपत्तिले न त कुनै देश विशेष भन्छ न त भौगोलिक सीमा नै मान्छ। यतिबेला पश्चिमा जगतले चीनमाथि विभेदपूर्ण सामग्री प्रकाशन गरिरहेका बेला चीनकै अशल छिमेकी देश नेपालका सचारमाध्यम पनि पश्चिमा संचारजगतको लहैलहैमा लागेर चीनमाथि हिलो छ्याप्ने र लान्छना लगाउने कार्य चीन र चिनियाँ जनताका लागि कदापि स्वीकार्य छैन।

आशा छ नेपाली पत्रपत्रिका र संचार माध्यमले चीनसँगको मैत्री सम्बन्धलाई ख्याल गर्नेछन्। अनि कोरोना भाइरसका विरुद्ध लड्नलाई साथ दिनेछन्। धन्यवाद।

Facebook Comments