Sat. Apr 27th, 2024

उहानबाट आजराती नेपाली विद्यार्थीहरु काठमाडौं ल्याईदै

काठमाडौं, २०७६ फागुण ३ गते शनिबार

कोरोना उद्गमस्थल चीनको उहान शहर तथा हुपै प्रान्तका विभिन्न १४ विश्वविद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई आजराती काठमाडौं ल्याउने अन्तिम तयारी पुरा भएको छ ।

पैचिंगस्थित नेपाली राजदूतावासले जारी गरेको यात्रा सूचना अनुसार स्थानीय समय शनिबार राती ९१५ बजे नेपाल वायु सेवा निगमको फ्लाईट नम्वर आरए ४२२२ मार्फत उनीहरुलाई काठमाडौं ल्याईदैछ । नेपाली समय अनुसार शनिवार राती ११ बजे चीनको उहानबाट उडेको नेपाल वायु सेवा निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईतबार विहान २ बजे अवतरण गर्नेछ ।

दूतावासका अनुसार नेपाली विद्यार्थीहरुलाई उडान समय भन्दा ५ घण्टा पहिले नै विमानस्थल पुर्याईनेछ । उनीहरुको सहजताको लागि ६ वटै शहरमा दुई दुई जना स्वयंसेवकको पनि व्यवस्था गरिएको छ । स्थानिय अधिकारीहरुसँगको समन्वयमा विमानस्थलसम्म पुग्न वसको व्यवस्था गरिएको छ । विमानस्थल पुगेका विद्यार्थीहरुको अन्तिम स्वास्थ्य परिक्षण पछि उनीहरुलाई नेपाल ल्याईनेछ । यसरी फर्कने विद्यार्थीहरुलाई हाते झोलामा ५ किलो र सामान राख्ने थैलोमा २० केजी सम्मको सामान ल्याउने सुविधा हुनेछ ।

काठमाडौं अवतरण गरेपछि उनीहरुलाई सीधै क्वारेण्टाईनमा पुर्याईनेछ जहाँ उनीहरु विभिन्न नियमको पालना गरी १४ देखि १७ दिनसम्म बस्नेछन् ।

Facebook Comments