Thu. May 16th, 2024

प्रधानमन्त्री पद पहिले आफुहरुले पाउनु पर्ने अडानले वार्ता सफल हुन सकेन

- सरकार गठनको कसरत जारी

काठमाण्डौं, २०७९ पुस ८ गते शुक्रबार । मंसिर ४ गते सम्पन्न निर्वाचनमा गठबन्धन गरेका मुख्य तीनवटा दलहरु नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नयाँ सरकार गठनको प्रयासमा लागि परेका छन् ।

सरकारमा कसले नेतृत्व लिे भन्ने प्रश्नसँगै भावी राष्ट्रपति र उपराष्ट्रपति पदको समेत भागभण्डा लगाउनु पर्ने भएकोले पनि सरकार गठनका लागि बारम्बार गरिएका कसरतहरु निष्कर्षमा पुग्न नसकेका हुन् । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालबीचको त्रिपक्षीय वार्ताले ठोस परिणाम प्राप्त गर्न नसक्नुको मुख्य कारण नेपाली कांग्रेसले राष्ट्रपति पद र पहिलो दुई वर्ष सरकारको नेतृत्व गर्न पाउनु पर्ने अडान राखेपछि सरकार गठनका लागि भैरहेका प्रयासहरु तत्काललाई ट्ंगोमा पुग्न नसकेको माओवादी श्रोतले बताएको छ ।

संसद्को पहिलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने तयारी गरिरहँदा माओवादी केन्द्रले पनि सरकारको नेतृत्वमा आफ्नो बलियो दाबी गरिरहेको छ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवि भण्डारीले दिनुभएको समयसीमा साँघुरिदै जाँदा सत्ता साझेदार दलका नेताहरु सरकार गठनको कसरतमा जुटेता पनि मेरो गोरुको बाह्रै टक्का भन्ने अडाननै सरकार गठनको बाधक भएको नेपाली कांग्रेसका एक नेताको भनाई छ । नेपाली कांग्रेसले यस पटक सरकारको नेतृत्वलाई भन्दा पनि ५ वर्षसम्म स्थिर रहने राष्ट्रपति पदलाई प्रतिष्ठाको विषय बनाएको छ । यद्यपी उ सरकारको पनि यसै पटक नेतृत्व गर्न चाहान्छ । विशेषत संसदमा उत्पत्ति भएका विधेयक र समय समयमा सरकारले जारी गर्ने अध्यादेशलाई विना रोकटोक पास गर्ने एसमेन यत्तिवेला राष्ट्रपति पदमा रहोस् भन्ने कांग्रेसको धारणा छ । तर केपी ओली सरकारका विरुद्धमा संगसंगै संघर्ष गरेको नेकपा माओवादी केन्द्र कांग्रेसले राष्ट्रपति पाए आफुले प्रधानमन्त्री पद पाउनु पर्ने अडानमा छ । जुन अडान जायज पनि देखिन्छ । तर नेपाली कांग्रेस माओवादीलाई तत्काल दुवै पद नदिने रणनीतिमा लागेको छ । कांग्रेसको यो रणनीतिले सरकार बन्न ढिला भएको विश्लेषकहरु बताउँछन् ।

तथापी नयाँ सरकार गठनका लागि सत्ता गठबन्धन दलका शिर्ष नेताहरुबीचको भेटघाट तीव्र बनेको छ । सरकार गठन र शक्ति बाँडफाँटका लागि छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

संसदीय दलको नेता चयन भएलगत्तै माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीलाइ भेट्न बालुवाटार पुग्नुभएको हो । यसअघि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनुहुँदै अध्यक्ष प्रचण्डले गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने भन्दै प्रधानमन्त्रीका बारेमा सल्लाह भइरहेको बताईसक्नु भएको छ ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शक्ति बाँडफाँडको विषयमा सहमति हुन बाँकी रहेको र गठबन्धनको बैठक बसेर टुङ्गो लगाउने बताउनुभयो ।

सत्ता गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पद बाँडफाँटका बिषयमा गठबन्धन आवद्ध तीन दलका नेताहरुबीच छलफल चलाउने बताउनुभएको छ ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भने संसदका दुइ ठुला राजनितिक दल नेपाली कांङग्रेस र नेकपा एमालेले मिलेर सरकार बनाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपतिद्वारा पुस १० गतेभित्र सरकार गठनको आव्हान भएबमोजिम दलहरुबीच सत्ता सहकार्यका विषयमा छलफल जारी छ ।-

Facebook Comments