Fri. Apr 26th, 2024

वुहानबाट उद्धारका लागि स्वास्थ्यतर्फको तयारी पूरा

काठमाडौं, २०७६ माघ २९ गते बुधबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनबाट नेपाल ल्याउन लागिएका नेपालीहरूको लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले ८६ जना स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको जानकारी दिदै नेपाल आउने नेपालीहरूलाई विमानस्थलदेखि यातायातका साधानमा लगिने बताउनुभयो ।

क्वारेनटाइनमा समेत पाँचवटा स्वास्थ्य डेष्क रहने भन्दै उहाँले क्वारेनटाइनमा बसेकाहरुलाई रुघाखोकी, ज्वरोको लक्षण देखिनासाथ स्वास्थ्य डेष्कमा सम्पर्क गर्नुपर्ने बताउनुभयो । गोरखापत्र अनलाईनका अनुसार उनीहरुलाई १४ दिनदेखि १८ दिनसम्म आफन्तसंग भेटघाट गर्न दिइने छैन । रुघाखोकी, ज्वरो आएका व्यक्तिलाई तत्काल एम्बुलेन्स मार्फत आइसोलेसन भएका अस्पतालमा ल्याइने छ । क्वारेनटाइनमा एम्बुलेन्सको व्यवस्था गरिएको हुन्छ ।

हुपैबाट आउने नेपालीलाइ छ बुँदे शर्त
यस्तै चीनको हुपैबाट नेपाल आउने नेपालीलाई बेइजिङस्थित नेपाली राजदूतावासले स्वदेश फिर्ता जाने नेपाली नागरिकहरुले पालना गर्नुपर्ने नियमहरुबारे जानकारी गराएको छ । बेइजिङस्थित नेपाल राजदुतावासले त्यहाँ रहेका नेपालीहरुलाई उपलब्ध गराएको नियममा क्वारेनटाइनमा १४ देखि १७ दिनसम्म बस्नुपर्ने जानकारी गराएको छ ।

दुतावासले लागू गरेको नियम अनुसार क्वारेनटाइनमा राख्दा खाना¸ पानी¸ शौचालय¸ स्वास्थ्य उपचार , इन्फेक्सन, नियन्त्रण, प्रिभेन्सनको व्यवस्थापन गर्ने जनाएको छ । क्वारेनटाइनमा रहँदासम्म आफन्तहरुसँग भेटघाट गर्न समेत नदिने भएको छ । क्वारेनटाइनमा बस्ने नेपालीलाई ६० कोठाको व्यवस्था गर्ने , उचित दुरीको फरकमा सामुहिक बसोबास गर्नुपर्ने हुन्छ । छ जनाले एक शौचालयको प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

क्वारेनटाइनमा रहँदा चीनबाट आउने नेपालीको सहजता र आरामलाई सकेसम्म व्यवस्थित गर्ने जनाइएको छ । क्वारेनटाइनमा रहने नेपालीहरुले दुतावासले दिएको हरेक नियम पालना गर्नुपर्ने भन्दै खाना सम्बन्धी , बाथरुम प्रयोग र समय लगायतको नियम पालना गर्नुपर्ने छ । उनीहरुलाई दुतावासले शर्तनामामा हस्ताक्षर गर्न लगाएर मात्र नेपाल फर्काउनेछ ।

Facebook Comments