Tue. Sep 17th, 2024

ठाकुर ज्ञवाली नेपाल प्रहरीका नयाँ महानिरीक्षक

ठाकुर ज्ञवाली, प्रहरी महानिरीक्षक

काठमाडौं, २०७६ माघ २८ गते मंगलबार

डीआईजी ठाकुर ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको छ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई २७ औं आईजीपी नियुक्त गरेको हो। कार्यसम्पादन मूल्यांकन र जेष्ठताका आधारमा ज्ञवालीलाई आईजीपी नियुक्त गरेको हो।

उहाँसँगै आईजीपीको दौडमा डीआईजी तारिणीप्रसाद लम्साल हुनुहुन्थ्यो ।

उहाँहरु दुवै २०४७ असार २५ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको हो। आईजीपी ज्ञवालीले आगामी असार २४ गते सेवाहदका कारण अवकाश पाउनु हुनेछ ।

आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उहाँका ब्याचका डीआईजीहरुले सेवाहदका कारण मंगलबार अवकाश पाउनु भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ आईजीपीमा नियुक्त गर्ने भनिए पनि निर्णय हुन सकेको थिएन्।

डीएसपी हुँदा ६ वर्ष लागूऔषध, एक वर्ष रुकुम र एक वर्ष बुटवल बस्नु भएका ज्ञवाली २०६६ मा एसपीमा बढुवा हुनु भएको थियो। एसपी भएपछि उहाँ दाङ, बारा र झापाको जिल्ला इन्चार्ज हुनुभएको थियो ।

एसएसपी हुँदा प्रहरी महानिरीक्षकको सचिवालय, नेपालगञ्ज र सीआईबीमा काम गर्नुभएका उहाँले डीआईजी भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गर्नु भएको थियो । पछिल्लो समय उहाँ प्रदेश १ प्रहरी प्रमुख भएर काम गर्दै हुनुहुन्थ्यो ।

आईजीपी खनालसँगै एआईजी पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यात सेवाहदकै कारण अवकाश भएपछि डीआईजी ज्ञवाली एआईजी बन्नु भएको हो ।

मंगलबार नै खनालकै ब्याची केदार रिजाल, मनोज न्यौपाने, शेरबहादुर बस्नेत, पूर्णचन्द्र जोशी, कमल जिटी, दानसिंह बोहोरा, नारायणसिंह खड्का, हरिभक्त प्रजापति, पिताम्बर अधिकारी, दीपक थापा, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, सुरज केशी, दिनेश अमात्य, महेन्द्र पोखरेल र सुरेशविक्रम शाह सेवाहदकै कारण अवकाश हुनुभएको छ भनि अन्नपूर्ण पोष्ट अनलाईनले समाचार प्रकाशित गरेको छ ।

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई भ्वाईस अफ काठमाडौं मिडिया प्रा.लि.को तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछौं ।

 

Facebook Comments