Fri. Sep 20th, 2024

सबैभन्दा उच्च र कम उचाइमा परेका सोलुका दुई मतदान केन्द्र   

सोलुखुम्बु, २०७९ मंसिर ३ गते शनिबार । सोलुखुम्बुको पाङबोचे मतदानस्थल जिल्ला कै सबैभन्दा उच्च स्थानमा रहेको मतदान केन्द्रमा परेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित पाङबोचे मतदानस्थल करिब चार हजार मिटरको उचाइमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मङ्सिर ४ गते हुने निर्वाचनका लागि उक्त मतदान केन्द्रमा ३८४ जना मतदाता छन् भने मतदान अधिकृतसहित आठ जना कर्मचारी खटिएका छन् । उक्त मतदान केन्द्रमा मतदान अधिकृतका रुपमा खुम्जुङ माविका प्रधानाध्यापक ङवाङ दोर्जी वाईनङ (एनडी राई) खटिएका छन् ।

उच्च स्थान भएकाले पानी जम्नेलगायत विभिन्न चुनौतीका बीच व्यवस्थापनको काम गरिरहेको मतदान अधिकृत ङ्वाङ दोर्जी वाईनङ (एनडी राई)ले बताउनुभयो । जिल्लाको सबैभन्दा उच्च स्थानमा पाङबोचे मतदानस्थल परेको छ भने जिल्लाको सबैभन्दा कम उचाइको मतदान केन्द्रमा नेचासल्यान गाउँपालिका-४ स्थित सगरमाथा आधारभुत विद्यालय मतदान केन्द्र परेको छ ।

करिब आठ सय मिटरको उचाइमा अवस्थित सगरमाथा आवि सबैभन्दा कम उचाइको मतदान केन्द्र भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त केन्द्रमा सात सय ६७ जना मतदाता छन् भने आठ जना कर्मचारी खटिएका छन् । सो स्थलको मतदान अधिकृतका रुपमा प्रकाश राई खटिएका छन् । रासस

Facebook Comments