Sun. May 5th, 2024

राष्ट्रपति भण्डारीद्वारा हिमालयन शेर्पा अस्पताल’को उद्घाटन, स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्नेमा जोड  

-विक्रम गिरी, सोलुखुम्बु, २०७९ कात्तिक २० गते आईतबार । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ ।

विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-३ फाक्दिङमा आज १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्नुहुँदै उहाँले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीले राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभयो । स्थापित यस असपतालबाट स्थानीय नागरिकका साथै आन्तरिक र विदेशी पर्यटकलाई ठूलो मद्दत पुग्ने पनि उहाँले बताउनुभयो । अस्पताललाई आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो । यसका लागि स्थानीय तहको सहयोग जरुरी भएको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

सामाजिक भावना राखी गाउँमै अस्पाताल खोलेर स्थानीयलाई निःशुल्क सेवा दिने काम सराहनीय भएको उहाँले बताउनुभयो । नजिकै अन्य अस्पताल नहुँदा सुत्केरीले पाउने पीडा कम गर्न अस्पतालबाट सहयोग पुग्नेमा आफू आशावादी रहेको राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गर्नुभयो । स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारलाई अस्पतालले प्रत्याभूति गरेको उल्लेख गर्दै उहाँले सरकार, निजी क्षेत्र र दातासित सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

सोलुखुम्बु पर्यटनको साङ्ग्रिला भएको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा रहेका ठूला हिमाल, भौगोलिक बनावट, जैविक र प्राकृतिक विविधताको लाभ लिनुपर्ने बताउनुभयो । पछिल्लो समय जलवायु परिवर्तनका कारण गगनचुम्बी सेता हिमाल काला पहाडमा परिणत भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले त्यसतर्फ सचेत जरुरी रहेको उल्लेख गर्नुभयो ।

वैज्ञानिक अध्ययन अनुसन्धानका साथै आफ्नै आँखाले पनि जलवायु परिवर्तनको असर प्रत्यक्षरुपमा देख्न पाइएको उहाँको भनाइ थियो । वातावरण जोगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पक्ष सबैले मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रियसभाका सदस्य सोनाम गेल्जेन शेर्पा स्वास्थ्य सेवा सबैको मौलिक अधिकार भएको बताउनुभयो । अबका दिनमा उपचारमा मात्र ध्यानकेन्द्रित नगरी स्वास्थ्य शिक्षामा ध्यान आवश्यक भएको उहाँले बताउनुभयो । नागरिकलाई बिरामी हुन नदिनु नै प्रमुख कुरा भएको उल्लेख गर्दै त्यसतर्फ सबै सचेत हुन आवश्यक भएको बताउनुभयो ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले विकट क्षेत्रमा अस्पतालको आवश्यकता रहेका बेला हिमालयन शेर्पा फाउण्डेशनले स्थापना गरेको यस अस्पतालबाट नागरिकलाई ठूलो राहत पुगेको बताउनुभयो । यसबाट गाउँपालिकाका ११ वटा गाउँका १० हजारभन्दा बढी नागरिकलाई उपचार गर्न सहज हुने बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएको गाउँपालिकामा बिरामी उपचार गर्न समस्या भएका बेला अस्पताल स्थापना हुँदा स्थानीयलाई राहत मिलेको उहाँले उल्लेख गर्नुभयो । सबैभन्दा बढी फाइदा स्थानीयका साथै यहाँ घुम्न आउने पर्यटकलाई भएको उहाँको भनाइ थियो ।

सो अवसरमा अस्पतालका संस्थापक हिमालयन शेर्पा फाउण्डेशनका अधयक्ष पर्यटन व्यवसायी फुर्वा ग्याल्जेन शेर्पाले अस्पताल स्थापना गर्नुको उद्देश्यबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको थियो । स्थानीय र पर्यटकले उपचार अभावमा ज्यान गुमाउनु परेको अवस्थालाई ध्यानमा राख्दै अस्पताल स्थापना गरेको उहाँको भनाइ थियो । पर्यटक लेक लागेर बीचमै भ्रमण गर्ने इच्छा त्यागेर आफ्नो देश फर्किने गरेका तथा स्थानीय लेक लागेर ज्यानै गुमाउनुपर्दाको अवस्थाबारे उहाँले राष्ट्रपति भण्डारीसमक्ष अवगत गराउनुभएको थियो । बिरामीलाई घण्टौँ टाढा लुक्ला अस्पताल लैजानुपर्दाको पीडाबाट प्रभावित भई अस्पताल स्थापना गरेको उहाँले बताउनुभयो ।

यसका लागि विदेशी दाताहरुको सहयोग महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । पर्यटन व्यवसायी शेर्पा परिवारले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत खुम्बु पासाङल्हामु गाउँपालिकाको फाक्दिङमा सुविधायूक्त १५ श्ययाको अस्पताल निर्माण गरेको हो । यो अस्पताल निर्माण गर्न करिब रु २० करोड लगानी भएको हिमालय शेर्पा फाउन्डेसनकी उपाध्यक्ष कान्छी फुटी शेर्पाले जानकारी दिनुभयो । अस्पताल कोङ्दे हिमालको काखमा (दुई हजार ६१० मिटर) उचाइमा अवस्थित छ । सामाजिक क्षेत्रमा काम गर्नका लागि शेर्पा परिवारले फाउन्डेसन स्थापना गरेको हो । स्थानीयलाई निःशुल्क र विदेशीलाई सहुलियत शुल्क लिएर उपचारको थालनी आजैदेखि गरिएको संस्थापक शेर्पाले बताउनुभयो ।

नाफा कमाउने उद्देश्यले नभई स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन खोलेको शेर्पाको भनाइ छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन फाउन्डेसनले गर्नेछ । उपचारबाट आउने रकम फाउन्डेसनका नाममा रहने र सोही रकमबाट चिकित्सकलाई तलबसहित अन्य सेवासुविधा उपलब्ध गराइनेछ ।

यस अस्पतालमा अल्टिच्युड, फुड पोइजन, चोटपटक लागेका स्वदेशी तथा विदेशी पर्यटकको उपचार हुनेहुँदा यस क्षेत्रको पर्यटन पनि लाभान्वित हुने अपेक्षा गरिएको छ । अहिलेसम्म यस क्षेत्रका बासिन्दा बिरामी पर्दा नाम्चे उक्लनुपर्ने वा लुक्ला झर्नुपर्ने बाध्यता थियो ।

जुलाई, २०१७ मा नै शिलान्यास गरिएको अस्पताल कोभिड–१९ का कारण निर्माणमा ढिलाइ भएको शेर्पाले बताउनुभयो । जर्मनीका नागरिक डा मथेस बाउमेनले रु पाँच करोड र अन्य दाताबाट थप रु दुई करोड सहयोग प्राप्त भएको संस्थापक शेर्पाले जानकारी दिनुभयो । हाल अस्पतालमा एक जना डाक्टर र तीन जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

अस्पतालमा एक वर्षभित्र अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याइने योजना छ । त्यसका लागि रु ५० लाख रकम खर्च हुने बताइएको छ । एकातर्फ यहीँको अस्पताल टाढा रहेको भए पनि हिँडेरै जानुपर्ने र अर्कातफै मौसम खराबी हुँदा काठमाडौँसम्म बिरामीलाई लैजानसमेत समस्या भइरहेको थियो ।  रासस

Facebook Comments