Thu. Apr 25th, 2024

वालुवाटार जग्गा प्रकरणमा अख्तियारको अनौठो नजिर : जग्गा फिर्ता गर्ने सर्तमा नेता पौडेल र न्यायाधीश रेग्मीलाई उन्मुक्ति

काठमाडौं, २०७६ माघ २३ गते बिहीबार

वालुवाटार जग्गा प्रकरणमा एक सय ७५ जनाविरुद्ध मुद्दा चलाएको अख्तियारले सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका विषयमा भने अनौठो नजिर प्रस्तुत गरेको छ । उहाँहरूले बालुवाटारको जग्गा फिर्ता गर्ने निवेदन दिएकाले मुद्दा नलाग्ने तर्क अख्तियारको छ ।

तर, बालुवाटारका योजनाकारहरूसँग जग्गा किनेका ६५ जना सर्वसाधारणको भने जग्गा जफत गर्न मुद्दा चलाइएको छ । पौडेलका छोरा नवीन र रेग्मीले जग्गा फिर्ता गर्ने बताएकाले मुद्दा नचलाउने निर्णय भएको अख्तियारले आफ्नो मिसिलमा लेखेको छ ।

त्यस्तै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि आयोगले अनुसन्धानको दायरामा तानेन । जब कि जग्गा बकस लिएको भन्दै उहाँकी श्रीमती उर्मिला शाहविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियारले बहालवाला एक न्यायाधीशविरुद्ध समेत मुद्दा दायर गरेको छ । चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश विनोदकुमार गौतमविरुद्ध मुद्दा दायर भएको हो । भौतिक योजना तथा निर्माण मन्त्रालयमा उपसचिवका रूपमा कार्यरत रहेका वेला उहाँ सो प्रकरणमा संलग्न भएको अख्तियारको दाबी छ । नयाँ पत्रिका अनलाईनबाट

Facebook Comments