Sun. May 19th, 2024

इन्डोनेसियामा झोल औषधि सेवनले ९९ बालबालिकाको मृत्यु

जाकार्ता, २०७९ कात्तिक ३ गते बिहीबार  गलत औषधि सेवनबाट इन्डोनेसियामा ९९ जना बालबालिकाहरूको ज्यान गएको छ । सिरप औषधि सेवन गरेका ९९ जना बालबालिकाको मिर्गौलामा समस्या देखिएर ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरै जना पाँच वर्षमुनिका बालबालिकाहरू रहेका छन् । बालबालिकाहरूको ज्यान गएपछि सरकारले देशैभर सबै सिरप र झोल औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

उक्त घटनाबारे थप जानकारी सङ्कलनको काम भइरहेको छ र  ज्यान गुमाउनेहरूको सङ्ख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ । ती औषधि आयात गरिएको हो कि स्थानीय उत्पादन हो भन्ने स्पष्ट भइसकेको छैन । इन्डोनेसियाको सरकारले घटनाको अनुसन्धान भइरहेको र सिरप र झोल औषधिको बिक्रीमा रोक लगाइएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

स्थानीयरूपमा प्रयोग हुने केही औषधिहरूमा यसअघि गाम्यिामा जस्तै रासायनिक तत्त्वहरू भेटिएको इन्डोनेसियाका स्वास्थ्य मन्त्रीले बताउनुभएको छ । बिरामी बालबालिकाका लागि प्रयोग हुने केही सिरपहरूमा औषधिमा प्रयोग गर्न नमिल्ने एथिलिन ग्लाइकोल र डाइथिलिन ग्लाइकोल समावेश भएको प्रमाणित भएको थियो ।

महिनाको सुरुमा पश्चिमी अफ्रिकाको गाम्बियामा भारतीय कम्पनीले उत्पादन गरेको खोकीको औषधि खाँदा ७० जना बालबालिकाको ज्यान गएपछि विश्व स्वास्थ्य सङ्गठन ले औषधिमा प्रतिबन्ध लगाएको थियो । एजेन्सी

Facebook Comments