Sat. Oct 19th, 2024

बाँकेमा जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

भिओके समाचार/काठमाण्डौं २०७९ असोज २६ गते बुधबार । बाँकेमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा टाटा सुमो जीपका चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडा रहनु भएको छ ।

घाइते हुनेहरुमा मृतक खतिवडाका दुई छोरी १६ वर्षीया रञ्जना र २३ वर्षीया सुमिता खतिवडा रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बताउनु भएको छ । त्यस्तै वीरन्द्रनगर नगरपालिका-७ का २२ वर्षीय शिशिर ज्ञवलीको अवस्था गम्भीर रहेको   घर्तीमगरले जानकारी दिनुभएको छ ।

बाग्मती प्रदेश ०१-०२८ च ००४४ नम्बरको जीप बुधबार विहान सवा ७ बजे पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका-२ झुरीखोलामा दुर्घटनामा परेको थियो । चालक निदाएको हुनाले जीप दुर्घटना भएको हुनसक्ने प्रहरी नायव उपरीक्षक घर्तीमगरले बताउनु भएको छ ।

Facebook Comments