Sat. Oct 19th, 2024

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता सम्पन्न

काठमाण्डौं, २०७९ असोज २३ गते आईतबार । निर्वाचन आयोगले आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आइतबार उम्मेदवारी दर्ता गराएको छ ।

आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको थियो । देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको थियो । आयोगले हालै आएको बाढी पहिरो जस्ता प्राकृतिक विपदका कारण आवतजावतमा कठिनाइ भएमा केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्ने व्यवस्था गरेको थियो ।

नेमकिपाका भक्तपुर क्षेत्र नम्बर १ का उम्मेदवार प्रेम सुवालले सत्ता गठबन्धनमा सिट भागबण्डामा ढिलाई भएका कारण आयोगलाई दबाब दिएर केन्द्रमा उम्मेदवारी दिने व्यवस्था गरिएको आरोप लगाउनुभयो । उहाँले आयोगले देशभरका उम्मेदवारको उम्मेदवारी केन्द्रबाट बुझ्नु गलत भएको बताउनुभयो ।

आयोगले उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा आफैँ उपस्थित हुन नसके प्रतिनिधि वा वारेस मार्फत पनि उम्मेदवारी दिन सकिने व्यवस्था गरेको थियो ।

Facebook Comments