Sun. Oct 20th, 2024

प्रचण्डको उम्मेदवारी गोरखा २ बाट

गोरखा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता पश्चात् लक्ष्मी बजारमा आयोजित कोण सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्ड । फोटो : प्रचण्डको फेसबुक

भिओके समाचार/गोरखा, २०७९ असोज २३ गते आईतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक पटक निर्वाचन क्षेत्र परिवर्तन गरेर चुनाव लड्न सक्ने व्यक्ति आफू मात्र भएको दाबी गर्नुभएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागी गोरखा-२ मा आज उम्मेदवारी दर्ता गराएपश्चात पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले भन्नुभयो- ‘पूर्व-पश्चिम र मधेश-पहाड घुम्दै चुनाव लड्ने संभवत: नेपालको इतिहासमै पहिलो व्यक्ति म नै हुनसक्छु ।’

 उहाँले यसपटकको निर्वाचनमा गोरखा आएपछि थप नयाँ रेकर्ड कायम भएको दाबी पनि गर्नुभयो । ‘सबैभन्दा पहिले रोल्पाबाट चुनाव लडें अनि काठमाण्डौबाट, त्यसपछि सिराहाबाट अनि आफ्नै गृहजिल्ला चितवनबाट,’ उहाँले भन्नुभयो, ‘यसरी देशको पूर्व पश्चिम मधेश पहाड घुम्दै चुनाव लड्ने नेपालको इतिहासमा सायद म नै पहिलो भएको छु भन्ने लागेको छ, अब गोरखा आएपछि नयाँ रेकर्ड बन्यो जस्तो लाग्छ ।’

गोरखा आफ्नो लागि चिरपरिचित ठाउँ भएकाले पनि गोरखामा चुनाव लड्न पाउँदा आफू निकै खुशी भएको उहाँले बताउनु भयो । युवावस्थामा आफूले अध्ययन गरेको जिल्ला समेत रहेको बताउँदै उहाँले पार्टी हेडक्वार्टर गोरखामा राखेर जनयुद्धको सम्पूर्ण तयारी गरेको समेत स्मरण गर्नुभयो ।

‘जनयुद्धको पहिलो सैनिक तालिम यही गोरखाको सिरानचोकमा भएको हो, पछि हाम्रो पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई चुनाव जितेर अर्थमन्त्री भएको जिल्ला, पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको घर, हरेक दृष्टिकोणले मेरा लागि गोरखा एउटा ऐतिहासिक जिल्ला हो, यहाँ आउँदा मलाई कता आएँ भन्ने लागेको छैन,’ उहाँले भन्नुभयो ।

गठबन्धनबाट निर्वाचनमा गएको बताउँदै उहाँले गोरखाबाट आर्थिक समृद्धिका लागि नयाँ रोडम्याप बनाउन सुरु गर्ने बताउनु भयो ।

Facebook Comments