Sun. Apr 28th, 2024

विभिन्न विषयका ११ बुँदै प्रस्ताव पारित हुँदै नेकपा बैठक सम्पन्न (दस्तावेज सहित)

काठमाडौं, २०७६ माघ १९ गते आईतबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को विधान प्रतिवेदन र महासचिव विष्णु पौडेलको संगठनात्मक प्रतिवदेनसहित विभिन्न विषयका ११ बुँदै प्रस्ताव पारित गरेको छ ।

बैठकले उपाध्यक्ष पद सिर्जना गरी सो पदमा वामदेव गौतमलाई सर्वसम्मत चयन गरेको छ भने मिलेनियम च्यालेञ्ज कोअपरेशन (एमसीसी)बारे दशदिनभित्र प्रतिवेदन बुझाउन पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा तीनसदस्यीय कार्यदल बनेको केन्द्रीय सदस्य हितमान शाक्यले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो ।

त्यसैगरी, भारतले एकतर्फी रुपमा सार्वजनिक गरेको भारतीय राजनीतिक नक्सालाई अस्विकार गर्दै नेपालको आधिकारिक राजनीतिक नक्सा सार्वजनिक गर्ने विषयमा पनि निर्णय भएको छ । विभिन्न विषयका ११ बुँदै प्रस्तावलाई महासचिव विष्णु पौडेलले पढेर सुनाउनुभएको थियो । हालै नेपालका लिम्पियाधुरा, लिपुरलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गर्दै ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजहरुका आधारमा ती भूभागहरु एवं सुस्ता क्षेत्रको विषयमा कुटनीतिक र राजनीतिक माध्यमबाट समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

त्यसैगरी, नोभल कोरना भाइरसबाट संक्रमणबाट नेपाली जनतालाई सुरक्षित गर्न सीमानाकाहरुमा उच्च सतर्कता अपनाउँदै चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीलगायत नेपाली नागरिकलाई आपत्कालीन उद्दार गर्न सरकारसँग आग्रह गरिएको छ । इरान र इराकलगायत पश्चिम एसियामा उत्पन्न तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै समस्याको वार्ताद्वारा शान्तिपूर्ण समाधान गर्न सम्वद्ध पक्षसँग आह्वान गरिएको छ ।

त्यसैगरी, राष्ट्रियसभामा निर्वाचित सांसदहरु, प्रतिनिधिसभाका सभामुख, तेहौं साग खेलकुद आयोजनाका निम्ति नेपाल सरकार र सम्वद्ध निकाय र दोश्रो स्थान दिलाउने नेपाली खेलाडीलाई हार्दिक वधाइ ज्ञापन पनि नेकपाको बैठकले गरेको छ ।

बल्खु मदननगरमा रहेको पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने तयारी पनि उक्त पार्टीले गरेको बताइएको छ भनि गोरखापत्र अनलाईनले समाचार छापेको छ ।

Facebook Comments