Sat. Apr 20th, 2024

कोरोना भाइरसका कारण चितवन र पोखराको पर्यटन व्यवसायमा असर

काठमाडौं, २०७६ माघ १८ गते शनिबार

चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण चितवनको पर्यटन व्यवसाय प्रभावित भएको व्यवसायीले बताएका छन्। देशकै तेस्रो पर्यटकीय गन्तब्यका रुपमा रहेको चितवनमा चिनियाँ पर्यटक आउने क्रम निकै कम भएको अनलाइन खबरले लेखेको छ।

क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोना भाइरस संक्रमणको असर सौराहामा परेको बताउनुभयो। ‘धेरैजसोले बुकिङ रद्द गरेका छन्,’ अध्यक्ष भट्टराई भन्छन्, ‘चिनियाँ मात्र होइन, भारतलगायतका अन्य मुलुकका पर्यटक पनि आएका छैनन्।’

उहाँका अनुसार जनवरीदेखि अपि्रल महिनासम्म धेरै चिनियाँ पर्यटकहरु सौराहा, मेघौलीलगायतका चितवनको पर्यटकीय क्षेत्र घुम्न आउँछन्। सौराहा आउने विदेशी पर्यटकमध्ये चिनियाँको संख्या सबैभन्दा धेरै रहने गरेको छ। सौराहामा दैनिक ५ सयदेखि ७ सयसम्म चिनियाँ पर्यटकहरु घुम्न आउने गरेको व्यवसायीहरु बताउँछन्। ३१ डिसेम्वरमा चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि नै चिनियाँ पर्यटकको संख्यामा कमि आएको व्यवसायीहरुको भनाइ छ।

क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले चिनियाँ पर्यटकहरु आउन कम भए पनि ठप्पै भने नभएको बताउनुभयो। ‘चीनका केही शहरबाट रोकिएका छन्, सबैबाट होइन,’ घिमिरेले भन्नुभयो, ‘गत वर्ष यो समयमा चिनियाँ पर्यटक बढी आएका थिए, चीनमा नयाँ वर्ष हालै मात्रैं परेकाले यो समयमा बढी पर्यटक घुम्न नेपाल आउँथे।’

सौराहामा अहिले आन्तरिक पर्यटकहरुको संख्या बढी छ। विभिन्न संघसंस्था र निकायहरुले सौराहामा गर्ने कार्यक्रमहरुले व्यवसाय धानिएको उनीहरुको भनाइ छ। विगतका वर्षहरुमा चितवन आउने कूल पर्यटकहरुमध्ये चिनियाँ पर्यटकहरुको संख्या ३० प्रतिशतभन्दा माथि थियो।

यसैगरी पोखरामा पनि त्रास बढेको छ। चिनियाँ पर्यटकको बढी चहलपहल हुने रेस्टुरेन्ट तथा होटलमा सतर्कता अपनाइएको छ। सतर्कता अपनाउँदै मास्क लगाएरै पर्यटकलाई सेवा दिँदै आएको चिनियाँ रेस्टुरेन्ट चान तासीमा कार्यरत निसाना थापा मगरले बताउनुभयो।

रेस्टुरेन्ट सञ्चालक चान उइलिनले कोरोना भाइरसका कारण चिनियाँ पर्यटकको आगमन प्रभावित भएको सुनाउनुभयो। जनवरी २४ मा सुरु भएको चिनियाँ नयाँ वर्षमा गत वर्षभन्दा ३० प्रतिशत कम चिनियाँ आफ्नो रेस्टुरेन्टमा आएको उहाँले बताउनुभयो।

लेकसाइडमा २३ वटा रेस्टुरेन्ट र चार होटलमा चिनियाँ व्यवसायीको लगानी छ। ८० प्रतिशत ग्राहक चिनियाँ नै हुन्। बाँकी २० प्रतिशत नेपाली र अन्य मुलुकका पर्यटक हुने गरेको उनले सुनाए। चिनियाँलाई लक्ष्य गरी सञ्चालित व्यवसाय समस्यामा पर्ने अवस्था रहेको उहाँको भनाइ छ।

‘अफ सिजन’ मानिएको अक्टोबर, जनवरी र फेब्रुअरीमा भूकम्प जानु तीन वर्षअघिदेखि चिनियाँको आगमन बढेको थियो। भूकम्पको असरपछि बल्ल चिनियाँ पर्यटकको आगमन बढ्न लाग्दा कोरोना आतंकले पर्यटन उद्योग प्रभावित हुन लागेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले सुनाउनुभयो।

चिनियाँ नयाँ वर्षका बेला विगतमा पोखरामा कुल पर्यटकमध्ये २५ प्रतिशत चिनियाँ हुन्थे। यो वर्ष १० देखि १५ प्रतिशत मात्र चिनियाँ रहेको उहाँले सुनाउनुभयो। पोखरामा स्वदेशी तथा विदेशी गरी ४० प्रतिशत पर्यटक छन्। कोरोनाका कारण अन्य देशका पर्यटक पनि घट्न सक्ने भएकाले सरकारले अन्तर्राष्ट्रिय प्रविधि अपनाएर नेपाललाई सुरक्षित बनाउन तत्काल पहल गर्नुपर्ने पर्यटन व्यवसायीको भनाइ छ।

जनवरी २५ देखि फेब्रुअरी ७ सम्म २ सय चिनियाँले कोरोनालाई कारण देखाएर बुकिङ रद्द गरेको ड्रागन होलिडे ट्राभल्सका सञ्चालक पुष्करराज पाठकले बताउनुभयो। उहाँका अनुसार जनवरी २५ देखि तीन महिनासम्मका लागि १ हजारभन्दा बढीले बुकिङ रद्द गरेका छन्। पोखरामा ६ सय ५० होटलमा ३० हजार बेड संख्या रहेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष तुलाचनले बताउनुभयो।

Facebook Comments