Fri. Apr 24th, 2026

दशैंमा घर जान १५ हजार यात्रुले लिए अग्रिम टिकट

       

काठमाण्डौं, २०७९ असोज ३ गते सोमबार । मुखमा आएको दशैँ , तिहार तथा छठ पर्व मनाउन काठमाडौंबाट घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । असोज १ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । अग्रिम टिकट बुकिङ खुला भएपछि असोज १ गते शनिवार सात हजार र असोज २ गते आइतवार आठ हजार यात्रुले अग्रिम टिकट लिएका हुन्।

सरकारले पश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्युठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर धरान विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको छ । लामो दूरीमा जाने यात्रुका लागि टिकट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म वितरण गरिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारी साधनको पनि अग्रिम टिकट बुकिङ चाँडो खुला गरिने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका काठमाडौँ प्रमुख रमेश खत्रीले जानकारी दिनुभएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । उक्त सहायता कक्ष राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा राखिनेछ ।

यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २२ गतेको निर्णयअनुसार यही असोज १ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार