Sat. Oct 19th, 2024

बाढी प्रभावित पाकिस्तानमा थप वर्षा हुने   

इस्लामाबाद, २०७९ भदौं २६ गते आईतबार । पाकिस्तानको मौसम विज्ञान विभागले आगामी चार देखि पाँच दिनसम्म पाकिस्तानका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले जारी गरेको एक रिपोर्टअनुसार देशको माथिल्लो भागमा पानीसहितको बादल प्रवेश गरिरहेको छ र शनिबारदेखि बुधबारसम्म थप बर्षा जारी रहने सम्भावना छ । बर्षाले देशको दक्षिणी सिन्ध, दक्षिणपश्चिम बलुचिस्तान र उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तका साथै अन्य क्षेत्रमा वर्षा गराउन सक्छ ।

वर्षाका कारण पाकिस्तान प्रशासित काश्मिर, खैबर पख्तुनख्वाको पहाडी क्षेत्र, उत्तरी गिलगित–बाल्टिस्तान क्षेत्र र पूर्वी पञ्जाब प्रान्तको गलयत र मुरी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने बताइएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले बाढी प्रभावित क्षेत्रका अधिकारीहरूलाई मौसम पूर्वानुमान र विद्यमान स्थलगत अवस्थालाई ध्यानमा राखेर सतर्कता अपनाउन निर्देशन दिएको छ ।

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण जुन महिनाको मध्यदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ३९६ पुगेको छ भने १२ हजार ७२८ जना घाइते भएका छन् । रासस/सिन्ह्वा

Facebook Comments