Sat. Oct 19th, 2024

कर्मचारी सरुवा गर्ने काम बन्द गर्न एमालेको चेतावनी

फाईल फोटो

भिओको समाचार/काठमाण्डौं, २०७९ भदौं २२ गते बुधबार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले कर्मचारी सरुवा गर्ने काम गरिरहेको आरोप लगाउँदै यस्तो काम तत्काल बन्द गर्न माग गरेको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सो निर्वाचनलाई प्रभावित तुल्याउने गरी सरकारले राजनीतिक आस्थाका आधारमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरू जिल्लाजिल्लामा खटाउने काम गरिरहेको भन्दै तत्काल त्यो काम नरोकिए आफ्नो पार्टी कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनी समेत दिनु भयो ।

स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धन सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारीहरू परिचालन गरी आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि चरम दमन गरेको जिकीर गर्दै प्रमुख सचेतक भट्टराईले आगामी निर्वाचनमा पनि त्यसैलाई निरन्तरता दिने तयारी भइरहेको बताउनु भयो । जनताले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अवस्था हुन नदिने काम सरकारले गर्न नपाउने उहाँको भनाइ थियो ।

प्रमुख सचेतक भट्टराईले भन्नु भयो, ‘मंसीर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तय भएको छ । मिति तय भएसँगै वर्तमान सरकारले अब निर्वाचित नयाँ सरकारलाई ह्याण्डओभर गर्नका लागि एक हिसाबले भन्दा काम चलाउ सरकारको रुपमा यो सरकार रन गरिरहेको छ । यस्तो बेलामा सरकारले धमाधाम दीर्घकालीन महत्वका कतिपय निर्णयहरु गर्नुका साथै यही प्रतिनिधिसभामा पनि अनेक खालका विधेयकहरु ल्याएर बहुमतको बलमा पास गराउने प्रयत्न गरिँदै छ ।’

Facebook Comments