Fri. Apr 19th, 2024

अनलाइन सपिङको नाममा ठगी धन्दा चलाउने ८ जनालाई ६८ लाखसहित मोरंग प्रहरीद्वारा पक्राउ

काठमाडौं, २०७६ माघ १४ गते मंगलबार

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने कार्यमा गिरोह नै सक्रिय रहेको पाइएको छ। मोरङ प्रहरीले लामो अनुसन्धान गरी सो समूहका आठ जनालाई पक्राउ गरेपछि सामाजिक सञ्जाल ठगीको गिरोह पत्ता लागेको हो।

यो समूहले भारत तथा काठमाडौंमा सम्पर्क सूत्र व्यापक बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। इलेक्ट्रोनिक्स सामानहरूको अनलाइन बिक्री गर्ने भन्दै फेसबुकमा विज्ञापन पोस्ट गरेर ठग्ने यो समूहलाई प्रहरीले दुई महिनाको समय लगाएर पक्राउ गरेको हो।

पक्राउ परेकाबाट ६७ लाख ९९ हजार ७५० रूपैयाँसहित बैंकका एटिएम कार्ड र चेक बरामद भएको मोरङ प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा खोटाङ जन्तेखोला गाउँपालिका ४ का शिवजी खड्का, सोही ठाउँकी देवी चौलागाईं, मोरङ सुन्दरहरैंचा नगरपालिका ३ का निरन्जनप्रसाद आचार्य, सुनसरी धरान नगरपालिका वडा नं. २० विष्णुपादुकाकी भावना राई, सोही नगरपालिका वडा नं. ५ कि सरिता परियार, वर्षा कार्की, सानु गौतम र लक्ष्मी कार्की छन्।

उनीहरूलाई विभिन्न मितिमा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार पक्राउ परेकाबाट विभिन्न बैंकका एटिएम, सही गरेका थुप्रै चेक र चेकबुक बरामद भएको छ।

सुनसरीकी छत्रकुमारी धमला, विराटनगरका रोशनकुमार मण्डल, निर्मलसिंह रायमाझी, तनहुँका रूपबहादुर आलेमगर र भक्तपुरका राज गोङ्गले उनीहरूबाट ठगिएको भन्दै जाहेरी दिएका थिए। उनीहरूले सामाजिक सञ्जालबाट ‘डिल’ गरेर खातामा पैसा पठाउन लगाई सामान नदिइकन ठगेको उल्लेख गरेका थिए।

जाहेरी परेपछि प्रहरीले यो समूहको अनुसन्धान सुरू गर्‍यो। अनुसन्धानमा ठगीका मुख्य व्यक्ति आचार्य देखिएका छन्। ‘बेस्ट बाई एपल स्टोर’ ‘बेस्ट इलेक्ट्रोनिक्स स्टोर सप होम’, ‘के मार्ट इलेक्ट्रोनिक्स’ पेजमा जोडिएर उनले ठगीको सञ्जाल विस्तार गरेको खुलेको छ। यो पेजमा बढी भारतीय व्यक्तिहरू जोडिएको देखिन्छन्। आचार्य तिनै भारतीयलाई नेपालमा ठगेको पैसा पठाउने गर्थे।

अधिकारीका अनुसार बेस्ट बाई नामको फेसबुक पेजका भारतीय एजेन्टहरूको नाम खुलेको छ। मिश्रा राजुभाइ, राजाराम त्रिपाठी, राजेश विश्वास, जुहेब हुसेन, हसन फैसल अलि, वर्षा अमित थडानी नमु श्रीकान्तलगायत व्यक्ति सो पेजका एजेन्ट देखिएका छन्।

‘यो पेजमा उनी एक सदस्य मात्र हुन्, ठगीमा उनी भारतीय व्यक्तिसँग जोडिन्छन्,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘काठमाडौंमा पनि लिंक छ भन्ने पत्ता लागेको छ।’

सो कार्यका लागि उनले युवतीहरूलाई प्रयोग गर्न थालेको खुलेको छ। उनले युवतीहरूको नाममा बैंक खाता खोलाउँथे, चेक बुकमा सही गर्न लगाउँथे र आफैं राख्थे। एटिएम आफैं राख्थे। पैसा आउनेवित्तिकै निकाल्थे।

सो कामका लागि वर्षा, सानु, लक्ष्मीलगायतका महिलालाई प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेको छ। उनीहरूको नाममा खाता खोलेर विभिन्न व्यक्तिलाई तिनै खातामा पैसा पठाउन लगाउने गरेको पाइएको छ।

जम्मा भएको रकम आचार्यले शिवजी र देवीलगायतका मानिसहरूलाई निकाल्न लगाउँथे। ग्राहकबाट उठेको रकम आचार्यले विभिन्न भारतीय व्यक्तिको खातामा जम्मा गर्ने गरेको खुलेको अधिकारीले बताए। ठगीमा ७८ वटा नेपाली बैंक र १४ वटा भारतीय बैंक खाता प्रयोग भएको देखिएको छ।

विराटनगरबाट पक्राउ परेका खड्काको साथबाट विभिन्न एक दर्जन बैंक खाताका माग फारम चेक २४ वटा र चार वटा एटिएम बरामद भएका छन्।

यस्तै, खड्का, देवी चम्लगाईं र आचार्यले विराटनगर ३ मा लिएको डेराबाट चार वटा एटिएम कार्ड र २२ वटा चेकफारम फेला परेका छन्।आचार्यको साथबाट १९ वटा चेक र चार थान एटिएम बरामद भएको छ। उनकै घरबाट ६ वटा बैंकका १० एटिएम, ५६ वटा चेक, सात बैंकका चेकबुक २९ थान चेक बुक बरामद भएका छन्।

यस्तै, सवारीसाधनको अस्थायी पैठारी अनुमति, १८ लाख १९ हजार, ५००, भन्सार प्रज्ञापन पत्र, रेमिटेन्स फारम, प्रिन्टर, कम्प्युटर, मोबाइल, भारतीय सिमकार्ड, एनसेल तथा नमस्तेका सिम, चेकबुक, भारतीय आधारकार्ड, भारतीय लाइसेन्सलगायत बरामद भएका छन्।

यो घटनाले फेसबुकमा विज्ञापन गरेको भरमा सामान अर्डर गरेर पैसा भुक्तानी गर्दा निकै सोच्नुपर्ने अवस्था आएको छ। अधिकारीले भने, ‘सामाजिक सञ्जालमा ठगी गर्ने समूह सक्रिय छ भन्ने यो घटनाले देखाउँछ।’

प्रहरीले घटनासँग जोडिने भारतीय समूहको खोजी थालेको छ। पक्राउ परेकालाई मुलुकी अपराध सहिता २०७४ अन्तर्गत ठगी, बैंकिङ, सरकारी छाप कागजात दस्तखत कीर्ते, नागरिकता ऐन अन्तर्गत दोहोरो नागरिकता सम्बन्धी मुद्दा र संगठित अपराध निवारण ऐन २०७० बमोजिम अनुसन्धान थालिएको अधिकारीले बताए।

‘यति नै रकम ठगिएको छ भनेर अहिलै सबै भन्न सकिने अवस्था छैन, यहाँ बरामदी सामान र रकम हेर्दा ठूलो मात्रामा भारत गएको र धेरै व्यक्ति ठगिएको हुनसक्छ,’ अधिकारीले भने।

यसकारण कि पक्राउ परेकाहरूले विभिन्न बैंकमा दर्जनौं खाता खोलेका छन्। अन्य व्यक्ति नाममा खाता खोलेको देखिएको छ। आचार्यले मात्र आधा दर्जन व्यक्तिका नाममा खाता खोलेको भेटिएको छ।

वर्षा कार्कीले १३ जना व्यक्तिका नाममा खाता खोलेकी छिन्। लक्ष्मी कार्कीले १४, सानु गौतमले २२ वटा खाता खोलेकी छिन्। अन्य ९ व्यक्तिका नाममा खाता भेटिएका छन्। ती व्यक्तिहरूलाई खाता खोल्न लगाएर कति ठगियो भन्ने यकिन भइसकेको छैन। सेतोपाटी अनलाईनबाट

Facebook Comments