Sat. Oct 19th, 2024

महाभियोग पूर्वाग्राही ढंगले आएको निलम्बित प्रधानन्यायाधीश जबराको भनाई

चोलेन्द्रशम्शेर जबरा

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १६ गते बिहीबार । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफुमाथिको महाभियोग पूर्वाग्राही ढंगले आएको बताउनु भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको महाभियोग सिफारिस समितिको बैठकमा जवराले प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको पुष्टि हुने कुनै आधार नै नरहेको भन्दै आफुमाथिको महाभियोग समेत पूर्वाग्राही ढंगले आएको बताउनु भएको हो । पूर्वाग्रही ढंगले आरोप लगाउनु अनुचित भएको उहाँको भनाई छ ।

उहाँले आफुमाथि लगाइएको उक्त आरोपको पुष्टि स्वयं समितिमा रहेका पाँच जना हस्ताक्षरकर्ताले गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले जसले आरोप लगायो, उहि नै समितिमा रहनु उचित नभएको र यो न्यायिक मूल्य मान्यताको बिपरित भएको जिकिर गर्नुभयो । जबराले आफुले पदमा रहँदा पदीय आचारण बिपरीत कुनै काम नगरेको दावी गर्नुभयो । कुनै बस्तुनिष्ट कुरा उल्लेख नगरी महाभियोग लगाउनु पूर्णत गलत रहेको जवराले बताउनुभयो । उहाँले महाभियोग लगाउँदा पुष्टि हुने कुरा पनि उल्लेख गर्नुपर्ने भएपनि त्यसो नगरेकाले प्रक्रिया नै गलत भएको जिकिर गर्नुभयो । नेपाल बार एशोसिएशनले लगाएको २१ बुदेँ प्रस्तावलाई नै महाभियोगको प्रस्तावका रुपमा ल्याइएको उहाँको भनाई छ ।

छानविन प्रक्रिया प्रति जवराले आपत्ती जनाएपछि समिति सदस्य सांसद रेखा शर्माले नियमावली र संविधानको व्यवस्था अनुसार नै आफुहरु समितिमा उपस्थीति भएको जानकारी दिनुभयो । उहाँले बारको प्रस्तावनै महाभियोगको प्रस्तावमा ल्याइएको भन्ने जवराको जवाफले आफुहरुले अपमानीत महशुस गरेको जिकिर गर्नुभयो ।

समिति सदस्य कल्याणी खड्काले निलम्बित प्रधानन्यायाधीश जबराको उत्तरले समितिमाथि नै प्रश्न उठाएको भन्दै आपत्ती जनाउनुभयो । उहाँले जवराकै कारण चार महिना न्यायालय अवरुद्ध हुनु नै ठूलो प्रमाण भएको जिकिर गर्नुभयो । खड्काले जवरामाथिको आरोप पुष्टि हुने धेरै आधारहरु रहेको तर्क गर्नुभयो ।

बयानका क्रममा जबराले आफ्नै नेतृत्वमा व्यक्तिका नाममा भएका सरकारी जग्गा सार्वजनिक कायम र कर छलीका मुद्दा फैसला भएको बताउनुभयो । एनसेल, भाटभटेनीलगायतका ठूला कर छलीका मुद्दामा फैसला आफ्नै कार्यकालमा भएको र धोबी खोलादेखि विभिन्न ठाउँमा व्यक्तिका नाममा भएका सबै सरकारी जग्गा सार्वजनिक कायम भएको जिकिर गर्नुभयो ।

समितिले जवरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरेको छ । गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिधि सभामा महाभियोग दर्ता भएको थियो । जबरामाथिको बयान जारी रहने छ ।

Facebook Comments