Sat. Oct 19th, 2024

भारतका शेयर सम्राट झुनझुनवालाको निधन

काठमाण्डौं, २०७९ साउन २९ गते आईतबार । भारतीय शेयर संसारको ‘सम्राट’ उपनामले चिनिने राकेश झुनझुनवालाको ६२ वर्षकै उमेरमा निधन भएको छ । आइतबार बिहान मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा उहाँको निधन भएको हो । उहाँको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा सँगै बसेको तस्वीर राख्दै शोक व्यक्त गर्नु भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग राकेश झुनझुनवाल र उहाँकी श्रीमती रेखा झुनझुनवाल। फोटो : मोदीको फेसबुक

भारतीय अर्बपति झुनझुनवालाको जन्म ५ जुलाई १९६० मा मुम्बईमा भएको थियो । उहाँका पिता भारतको राजस्थान राज्यको आयकर अधिकारी हुनुहुन्थ्यो । उहाँलाई आफ्ना पिताको संगतले शेयर बजारतर्फ आकर्षित गरेको थियो । झुनझुनवाला पेसाले चार्टर्ड एकाउन्टेन्ट भए पनि उहाँले १९८५ बाट शेयर बजारमा लगानी गर्न थाल्नुभएको थियो । ५ हजार भारुबाट शेयर बजारको यात्रा सुरु गर्नुभएका झुनझुनवालाको सम्पत्ति ६ अर्ब डलर रहेको छ ।

सन् १९८६ मा झुनझुनवालाले टाटा चिया कम्पनीको ५ हजार शेयर किन्नुभएको थियो । उहाँले प्रतिशेयर ४३ रुपैयाँमा किन्नुभएको थियो । उक्त शेयरको मूल्य तीन महिनामै बढेर १४३ रुपैयाँ पुग्यो । उहाँको पहिलो लगानी तीन गुणाभन्दा बढीले बढ्नु नै उहाँको सफलताको पहिलो सिँढी थियो ।

झुनझुनवालाको स्टार हेल्थ इन्स्योरेन्स, मेट्रो ब्रान्ड र कन्कर्ड बायोटेक जस्ता निजी कम्पनीहरूमा पनि शेयर लगानी छ । उहाँको सबैभन्दा धेरै शेयर घडी र गहना निर्माण गर्ने टाइटन कम्पनीमा छ ।  उहाँको उक्त कम्पनीमा ७२९४.८ करोड भारू लगानी छ । झुनझुनवालालाई विश्वका नम्बर वान शेयरलगानीकर्ता वारेन बफेटसँग तुलना गरिन्थ्यो यद्यपि उहाँलाई यो तुलना खासै मन पर्दैनथ्यो । उहाँ ‘द बिग बुल’ र ‘स्टक मार्केट किङ’को रुपमा समेत चिनिनुहुन्थ्यो।

उहाँको निष्ठा, आर्यमन र आर्यवीर गरी एक छोरी र दुई छोरा छन् । उहाँ भारतको ३६ औं धनी व्यक्तिमा  पर्नुहुन्छ । उहाँले आफ्नो कमाइको ठूलो हिस्सा समाजसेवामा पनि खर्च गर्नुभएको छ ।  दैनिक करोडौं कमाउने उहाँको रहनसहन र जीवनशैली निकै साधारण थियो । बेस्सरी खुम्चिएको ह्वाङ्ल्यागे सर्टमा नरेन्द्र मोदीसङ्ग भेटवार्तामा खिचेको फोटो निकै भाइरल भएको थियो ।

पछिल्लो समयमा उहाँले आकाश एयर नामको एयरलाइन्स कम्पनी खोल्नुभएको थियो । उक्त कम्पनीले अगस्ट महिनाको सुरूदेखि भारतीय आकाशमा उडान भर्न थालेको छ । यस कम्पनीमा उहाँले २ अर्ब ६४ करोड भारु लगानी गर्नुभएको छ र उहाँले ७० वटा विमान किन्ने योजना पनि बनाउनुभएको थियो । एजेन्सी

Facebook Comments