Sat. Oct 19th, 2024

काठमाण्डौं उपत्यका वरपर बिहानै ५.३ रिक्टरको भूकम्प

काठमाण्डौं, २०७९ साउन २१ गते शनिबार । आज बिहान सबेरै काठमाण्डौं उपत्यका वरपर भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा गएको भूकम्पका कारण राजधानीवासी आत्तिएर घरबाहिर निस्किएका थिए ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सूचना अधिकारी नारायण बाँस्कोटाले नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर ५.३ रिक्टर स्केलको भूकम्प गएको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म क्षतिको विवरण आइनसकेको बताउनुभयो ।

केन्द्रका अनुसार भूकम्पको धक्का नुवाकोटसहित धादिङ र उपत्यकाका विभिन्न जिल्लामा महसुसर गरिएको थियो । यो नयाँ भूकम्प नभई २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि केन्द्रले जनाएको छ ।

छोटै अवधिमा लगातार भूकम्प जाने क्रम फेरि सुरु भएको छ । यसअघि गत साउन १५ गते खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ६ रिक्टर स्केलको भूकम्प गएको थियो भने गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ रिक्टरको भूकम्प गएको थियो ।

Facebook Comments