राष्ट्रियतालाई बलियो बनाउन एमाले नेतृत्वको सरकार आवश्यक : ओली
फाईल फोटो
भिओके समाचार/काठमाण्डौं, २०७९ साउन २० गते शुक्रबार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियतालाई बलियो बनाउनका लागि पनि एमालेको नेतृत्वमा सरकार बन्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार भक्तपुरमा पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी पाँच वर्ष पनि वर्तमान गठबन्धनले सरकार चलाए देश ध्वस्त हुने भन्दै राष्ट्रियतालाई बलियो बनाउनका लागि पनि एमालेको नेतृत्वमा सरकार बन्नुपर्छ भन्नुभयो । गठबन्धनको कुनै गन्तव्य नै नरहेको र स्वार्थमा मात्र केन्द्रित भएको भन्दै उहाँले इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिल्यै नभएको पनि दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले न्यायपालिका, व्यवस्थापिकालाई आफू अनुकूल बनाएर गठबन्धन सरकारले संवैधानिक निकायको हुर्मत लिने काम गरेको आरोप लगाउनुभयो । उहाँले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेर सभामुख सरकारको खेलौना जस्तो बनेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा ओलीले तत्कालका लागि एमालेको दुई तिहाई प्राप्त गर्ने सम्भावना नदेखिएको भन्दै इमानदार प्रयासलाई संगठित ढंगले अघि बढाउन सके बहुमत प्राप्त गर्न सकिने धारणा राख्नुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा भएको क्षतिलाई अबको निर्वाचनले पूर्ति गर्नुपर्ने र केन्द्रमा एमालेको बहुमत एक सरकार गठनका लागि तयारी गर्नुपर्ने धारणा राख्नुभयो ।
ओलीले एमालेका सम्पूर्ण काम चुनावमा केन्द्रित गर्न पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिनुभयो । नेताहरुले केही गरेनन्, स्वतन्त्रले गर्छन् भनेर प्रचार गर्ने गरिएको भन्दै ओलीले राष्ट्र निर्माणका लागि दलीय व्यवस्थाको अपरिहार्यता विश्वव्यापी रूपमा नै पुष्टि भएको बताउनुभयो ।

