Sat. Oct 19th, 2024

फोहोर नउठाउँदा राजधानीका सडक एक हप्तादेखि दुर्गन्धित

भिओके समाचार/ काठमाण्डौं, २०७९ साउन १९ गते बिहीबार । काठमाडौं महानगरपालिकाले गएको एक हप्तादेखि फोहोर नउठाउँदा चोकगल्ली सर्वत्र दुर्गन्ध फैलन थालेको छ ।

कहिले बाटोको समस्या र कहिले स्थानीय वासिन्दाले फोहोर उठाउन नदिएको जस्ता समस्या देखाएर महानगर आफ्नो जिम्मेवारीबाट पन्छिदै आएको छ ।

महानगरले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहरको वर्गीकरण गर्नुपर्ने र नगरे कारबाही गर्ने चेतावनीसमेत दिएको थियो । हप्तामा दुई दिन कुहिने फोहर र दुई दिन नकुहिने फोहर उठाउने कार्यतालिका सार्वजनिक गरे पनि काठमाडौं महानगर अहिले फोहोर सडकमा थुप्रिदा किन गम्भीर बनिरहेको छैन भन्ने गुनासो महानगरवासीले गर्न थालेका छन् ।

काठमाडौं महानगरमा दैनिक ६ टन फोहोर निस्किन्छ, जुन फोहोर गएको ७ दिनदेखि नउठाउँदा काठमाडौंको सडक किनार फोहोरले भरिन थालेको छ ।

फोहोर नउठाउँदा बागमती खोलाको पुल आसपासमा थुप्रै फोहोर र फोहोर रखिएको गाडीहरु ताँती लगाएर राखिएका छन् । यसले गर्दा त्यस क्षेत्र भएर आवतजावत गर्ने मानिसहरुलाई समस्या भएको छ । घरमा राख्दा गन्हाउने  र फोहोरको गाडी फोहोर लिन कहिले आउने जानकारी नभएका कारण स्थानीय वासिन्दा खोलाको आसपास र सडक किनारामा फोहोर फाल्न बाध्य भएका छन् ।

बाटो बिग्रिएका कारण महानगरले केही समय फोहोर नउठने सूचना निकालेको र विस्तारै केही ठाउँको फोहोर उठाउन थालिएको काठमाडौं महानगरपालिकाका अधिकृत हरि थापाले जानकारी दिनुभयो । सकेसम्म बाटो छिटो बनाउन महानगरले पहल गरिरहेको पनि अधिकृत थापाले जानकारी दिनुभयो ।

Facebook Comments