Sat. Oct 19th, 2024

जनार्दन शर्मालाई पुन: अर्थमन्त्री नियुक्त

भिओके समाचार/ काठमाण्डौं, २०७९ साउन १५ गते आइतबार । संसदीय विशेष छानबिन समितिले दोषी नदेखाएपछि नेकपा एकीकृत माओवादीका सांसद् जनार्दन शर्मालाई पुन: अर्थमन्त्री नियुक्त गरिएको छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरिएको आरोप लागेका शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पुन: अर्थमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी  नियुक्ति एवं कार्यभार तोक्नुभएको छ । शर्माले आजै पद तथा गोपनियताको शपथ लिनु भएको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले  असार २२ गते राजीनामा दिनुभएको थियो । संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उहाँलाई पुन: अर्थमन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।

Facebook Comments