Sat. Oct 19th, 2024

भीमसेन थापाको जन्मजयन्तीमा गोरखामा सार्वजनिक बिदा

गोरखा, २०७९ साउन ९ गते सोमबार । गोरखाको भीमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भीसमेन थापाको जन्मजयन्तीको अवसरमा सोमबार गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएकोे छ । राष्ट्रिय विभूति थापाको २४७ ‌औं जन्मजयन्तीको अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिइएको त्यहाँका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

“यो गाउँपालिका थापाको जन्मथलो भएकाले उहाँको सम्झना र सम्मानमा आज जन्मजयन्तीको अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिइएको हो,” उहाँले भन्नुभयो । सार्वजनिक बिदाको दिन पालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, सङ्घसंस्था बन्द हुने गाउँपालिकाले जनाएको छ । जन्मजयन्तीका अवसरमा आजै गाउँपालिकाको वडा नं ८ स्थित थापाको जन्मथलो बोर्लाङको पिपलथोकस्थित हवेली दरबार परिसरमा निर्माण गरिएको थापाको पूर्णकदको शालिक अनावरण गर्ने कार्यक्रमसमेत रहेको छ । “असार २९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो,” अध्यक्ष बन्जराले भन्नुभयो । रासस

Facebook Comments