Sat. Oct 19th, 2024

प्रहरी नायब उपरीक्षक कुँवर प्रदेश नं १ को उत्कृष्ट प्रहरी   

झापा, २०७९ साउन ५ गते बिहीबार । आपराधिक घटनाको सुक्ष्म अनुसन्धान गरेर अपराधीलाई पक्राउ गर्न सफल इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षकलाई सर्वोत्कृट प्रहरी घोषणा गरिएको छ ।

आज प्रदेश १ को प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी नायब उपरीक्षक रुगुमबहादुर कुँवरलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । उहाँले दुई हप्ताअघि अर्जुनधारा नगरपालिका-४ जुकेखाडीस्थित कच्च सडकखण्डको ह्युमपाइपभित्र भारतीय नागरिकलाई मारेर बोरामा प्याक गरी फाल्ने अभियुक्तको पहिचान गरी पक्राउ गरेर कानुनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको प्रदेश प्रहरी कार्यालयले ठहर गरेको छ ।

प्रहरी नायब उपरीक्षक कुँवरले लागुऔषध, चोरी, तस्करीलगायत विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी आम नागरिकमा सुरक्षामा प्रत्याभूति दिलाउने काममा अब्बल रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले बताउनुभयो । पुरस्कारस्वरुप प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, ‘क’ स्तरसम्मका प्रहरी कार्यालयमा उहाँको उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिण्ट एक महिनासम्म राखिने प्रहरी प्रवक्ता राईको भनाइ छ । रासस

Facebook Comments