Tue. Apr 23rd, 2024

काठमाडौंमा सोनाम ल्होछार भव्य रुपमा मनाईयो

काठमाडौं, २०७६ माघ ११ गते शनिबार

मुलुकभर रहेका तामाङ समुदायले शनिवार सोनाम ल्होछार पर्व भव्य रुपमा मनाएका छन् । ल्होछारका अवसरमा काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ । मञ्जुश्री पात्रो अनुसार शनिबार तामाङ समुदायको नयाँ वर्ष हो। उक्त पात्रो अनुसार शनिबार २८५५ वर्ष पुरा भई २८५६ वर्ष सुरु भएको छ।

‘ल्होछार’ दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘छार’ वा ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ ‘नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् ।

बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ ।

अब हामी रातोपाटी अनलाईनका पत्रकार कृष्ण खड्काले सोनाम ल्होसारको अवसरमा लेख्नु भएको विशेष लेख यहाँ जस्ताको तस्तै समावेश गर्दैछौं ।

नेपाल सानो मुलुक भएपछि यहाँको सांस्कृतिक विविधता लोभलाग्दो छ । विभिन्न जातजातीको संस्कृति झल्काउने आफ्नै रितिरिवाज र चालचलन छ छँदैछ उनीहरुको पर्वमा अर्को फरक समूदायले पनि पनि उत्तीकै सम्मान र हार्दिकता देखाउँछन् ।

यस्तैमा एक हो-तामाङ समुदायले मनाउने ल्होसार । माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५६औँ वर्ष शुरु हुन्छ । आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको  अनुसन्धाता टीका शेर्पाले जानकारी दिए ।  तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । शनिबार मनाइने पर्वका अवसरमा वाग्मती प्रदेशले शुक्रबार नै प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।

यसै अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दै ल्होसार मनाएको छ । कार्यक्रममा तामाङ समूदायका बालबालिका, युवायुवती र वृद्धवृद्धासँगै सँगै अन्य समूदायका मानिहरुसमेत सहभागी भएको देखिन्थ्यो । अधिकांश सहभागीहरु तामाङ पहिरनमा सजिएका थिए ।

फोटो: अन्नपूर्ण पोष्ट अनलाईन र रातोपाटी अनलाईनबाट

 

Facebook Comments