Sat. Jun 27th, 2026

एउटा शताब्दी !

- भवानी न्यौपाने'भावना'

       

दाङ, २०७९ असार २५ गते शनिबार ।

✍️भवानी न्यौपाने भावना

चराहरू बास बसिसकेपछिको बूढो स्तब्ध साँझ झैँ
बेठेगान उडेको अनियन्त्रित बादल झैँ
दिनभर सडकको छाती चिरेर हुँइकिने गाडी को वेग झैँ
झरेर सेताम्मे छरिएको सिमलको भुवा झैँ
पोखिएको खण्डहर दिवा बगिरहेछ
कर्णाली झैँ लम्पसार भएर
अनन्त यात्राको गिटार रेट्दै

फूलेर मुर्झाएको पुष्प वाटिका झैँ
आशा र सपना भत्किएको धरातल झैँ
चुडिएको सङ्गीतको तार झैँ
तुषारापातले ब्रजित वृक्ष झैँ
शिकारीको गोलीले रन्थनिएको चरी झैँ
सुस्ताइरहेको चुरे पर्वत झैँ
ढलिरहेछ एउटा बूढो पिपल
आशाका झिना रेखा केर्दै।

उ निष्प्राण भएपछि दाउरा बाल्न आतुर गृहिणीहरू
यत्रतत्र प्रतीक्षारत छन्
मुसो झम्टिने बिरालाहरू झैँ
बाख्रो आक्रमण गर्ने बाघ झैँ
चरा मार्ने कठोर बाझ झैँ
डसेर यमराजकहाँ पुर्याउने सर्प झैँ
घोचेर रगताम्मे पार्ने निलकाँडा झैँ
विषाक्त भएर उठिरहेछ निरस शताब्दी
कोमल पुष्पको पत्रदल छेर्दै।

उ ढलेर अर्धचेतन हुँदाहुँदै
पीडाको आर्तनादमा
सयौं पीडाहरू तछाडमछाड गरिहनेछन्
गोली लागेको सिपाही झैँ
रगतको पोखरीमा डुबेको कमिला झैँ
तिर्खाएको काकाकुल झैँ
जलेर खरानी बनेको मुढो झैँ
सकिँदैछ एउटा बूढो पिपल
यो शताब्दीको दर्दनाक सास फेर्दै।

Facebook Comments