Sat. Jun 6th, 2026

समयको चक्रव्युह

- भवानी न्यौपाने भावना

       

दाङ, २०७९ असार २ गते बिहीबार।

✍️भवानी न्यौपाने भावना

अचेल समयको चक्रव्युहले बाँधिएकै कहरमा छु
असंख्य भीडमा शून्य लाग्ने बिरानो , निर्दयी सहरमा छु।।

उडिरहेछ दिव्य वायु धरातलमा तर भेट्नै सकिन
स्मृतिका दीर्घ छालहरूले चुटेको विशालु जहरमा छु।।

जिन्दगीका मैदान त कति हिडियो हिडियो आजसम्म त
व्यस्तताले जेलिएका विराट गगनचुम्बी पहरमा छु।।

समाजमा धेरै विकृतिहरू बढ्दैछन् दिनानुदिन आज
चेतनाको दीप बाल्दै सन्देशरूपी काव्यका लहरमा छु।।

सुनेकी थिएँ तुलसीपुरमै हिजो एक नराम्रो घटना
भविष्यमा शीघ्र शिष्ट ,नैतिक समाज देख्ने रहरमा छु

पार्वती ,सीता ,भृकुटीलाई कहिले नबिर्सनू आदर्शमा
स्वयं अस्तित्व मेट्ने पात्रलाई नै दोषी मान्ने ठहरमा छु।।

बाबु! निष्ठुर समय अविश्रान्त गतिले कुदिरहेकोछ
सुन्दर भविष्यको चित्राङ्कन गर्दै गहिरो नहरमा छु ।।

Facebook Comments