Fri. Oct 18th, 2024

चीन र अमेरिकी रक्षामन्त्रीबीच सिङ्गापुरमा भेट हुने

पैचिङ । संयुक्त राज्य अमेरिका र चीनका रक्षामन्त्रीहरूबीच आज सिङ्गापुरमा साङ्ग्रि-ला संवाद सुरक्षा शिखर सम्मेलनका क्रममा भेटवार्ता हुने चिनियाँ सञ्चार माध्यमले जनाएको छ ।

चिनियाँ रक्षामन्त्री वे फङ ह अमेरिकी रक्षामन्त्री लोयड अस्टिनबीच हुने उक्त वार्ता अस्टिनले पदभार ग्रहण गरेपछि पहिलो पटक हुँदैछ। विश्वका शीर्ष सैन्य अधिकारीहरू, कूटनीतिज्ञहरू र हतियार फर्महरूको लागि एक मञ्च, साङ्ग्रि-ला संवाद जुन १० देखि १२ सम्म दक्षिणपूर्वी एसियाली शहरमा आयोजना हुँदैछ।

रासस का अनुसार कोभिड-१९ महामारीका कारण दुई पटक स्थगित भएपछि सन् २०१९ यता पहिलो पटक सो कार्यक्रम आयोजना गरिदैछ। चीन र अमेरिकाले हालैका वर्षहरूमा लगभग पूरै दक्षिण चीन सागरमा पैचिङको दाबीका साथै ताइवानमाथिको चर्काचर्कीलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

सत्तारुढ कम्युनिष्ट पार्टीले प्रजातान्त्रिक, स्वशासित ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा भएको दाबी गरेको छ र आवश्यक परे एक दिन बल प्रयोग गरेर भए पनि कब्जा गर्ने वाचा गरेको छ।

त्यस्तै हालसालै युक्रेनमा रुसको आक्रमणलाई लिएर दुई पक्षहरू विवादमा परेका छन् । यसै बीच वाशिङ्गटनले पैचिङले मस्कोलाई मौन समर्थन गरेको आरोप लगाएको छ। चीनले भने युद्ध अन्त्य गर्न वार्ताको लागि आह्वान गरेको छ तर रुसको कार्यको निन्दा गर्न छोडेको छ र युक्रेनलाई अमेरिकी हतियार अनुदानको बारम्बार आलोचना गर्दै आएको छ ।

Facebook Comments