Fri. Oct 18th, 2024

दबावमा होइन उत्कृष्टताका आधारमा सरुवा/बढुवा : प्रहरी महानिरीक्षक

काठमाण्डौं, २०७९ जेठ १९ गते बिहीबार ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले राजनीतिक दबावले भन्दा पनि उत्कृष्टताका आधारमा प्रहरी कर्मचारीको सरुवा/बढुवा हुने बताउनुभएको छ । प्रहरी महानिरीक्षक भएको एक महिना पूरा भएको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा उहाँले उत्कृष्ट र कार्य दक्षता हेरेर नै सरुवा/बढुवा हुने स्पष्ट पार्नुभयो । अन्य कारणबाट गरिएको बढुवाले सङ्गठनको श्रीवृद्धिमा सहयोग नगर्ने पनि उहाँको धारणा थियो । मिडियामा आएका कतिपय कुरामा सत्यता बुझ्न पनि उहाँले पत्रकारलाई आग्रह गर्नुभयो ।

उहाँले सङ्गठन प्रमुख फेरिँदैमा प्राथमिकता नफेरिने बरु त्यसलाई सफलरुपमा कार्यान्वयन गर्नु महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै आफूले अहिले विगतका योजना कार्यान्वयनमा ध्यान दिएको बताउनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले सङ्गठनको निष्पक्षतामा कुनै सम्झौता नहुने र प्रहरीको नियमभन्दा बाहिर जाने कारवाहीको भागिदार हुने पनि बताउनुभयो । प्र्रहरी कार्यालयमा जाहेरी लिन आनाकानी गरेका सन्दर्भमा उठेको जिज्ञासामा उहाँले अपराध संहितामा प्रहरीले जाहेरी लिनुपर्ने कुरा स्पष्ट उल्लेख भएकाले कुनै प्रहरी कार्यालयले जाहेरी नलिएमा त्योभन्दा माथिल्लो कार्यालय वा प्रशासन कार्यालयमा जाहेरी दिन सकिने पनि बताउनुभयो ।

उहाँले सङ्गठित अपराधमा तथा अन्य घटनामा वस्तुनिष्ठ अनुसन्धान गरी निष्कर्षमा पु¥याउन प्रहरी कटिबद्ध रहेको पनि बताउनुभयो । निर्मला पन्त प्रकरणको अनुसन्धानसमेत आफ्नो प्राथमिकतामा रहेको प्रहरी महानिरीक्षकको भनाइ छ । विसं २०५१ पछि पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएकामा उहाँले सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो । रासस

Facebook Comments