Fri. Oct 18th, 2024

चर्चित भारतीय गायक केकेको निधन

काठमाण्डौं, २०७९ जेठ १८ गते बुधबार । चर्चित भारतीय गायक केके (कृष्णकुमार कुन्नथ) को मंगलबार राति ५३ वर्षको उमेरमा निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उहाँको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

केके कोलकाताको नजरुल मञ्चमा लाइभ कार्यक्रमको क्रममा बिरामी पर्नु भएको थियो । त्यसपछि उहाँ होटलमा फर्किएको र त्यहाँ अचानक ढलेको बताईएको छ । राति करिब १० बजे उहाँलाई कोलकाताको मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो, जहाँ चिकित्सकले उहाँलाई मृत घोषणा गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।

केकेको निधनप्रति प्रधानमन्त्री, उपराष्ट्रपतिलगायत भारतका धेरै प्रतिष्ठित व्यक्तित्व र बलिउड सेलिब्रेटीले सामाजिक सञ्जालमा शोक व्यक्त गर्नु भएको छ ।

केकेको जन्म दिल्लीमा भएको थियो

गायक केकेको जन्म २३ अगस्ट १९६८ मा दिल्लीमा हिन्दू मलायाली परिवारमा भएको थियो । उहाँको आमा–बुवाको नाम सी.एस. मेनन र कुनाथ कनकवल्ली हो । उहाँ दिल्लीमा हुर्कनु भयो र यहाँ माउन्ट सेन्ट मेरी स्कूलमा प्ररम्भिक शिक्षा हासिल गर्नु भयो । त्यस पछि उहाँले दिल्ली विश्वविद्यालयको किरोरी मल कलेजबाट स्नातक गर्नु भयो । ककेले सन् १९९१ मा आफ्नी प्रेमिका ज्योतिसँग विवाह गर्नु भएको थियो । केकेका एक छोरा नकुलकृष्ण कुननाथ र एक छोरी हुनु हुन्छ ।

हिन्दी, बंगला लगायत धेरै भाषामा गित गाउनु भयो

केकेले हिन्दी, बंगाली, तमिल, तेलुगु, कन्नड, मलयालम, मराठी, असमिया र गुजराती भाषाहरूमा गीत गाउनु भएको छ । बलिउडमा प्रवेश गर्नुअघि केकेले ११ भाषामा ३ हजार ५ सय जिङल्स गाउनु भएको थियो । केकेले संगीतको कुनै औपचारिक तालिम लिनु भएको थिएन । उहाँले हम दिल दे चुके सनम (१९९९) को लोकप्रिय गीत “तडप तडप के इस दिल से आह निकती राही“ बाट बलिउडमा बाट प्रसिद्धि पाउनु भएको थियो । उहाँको गुलजार की माचीस (१९९६) को “छोड आये हम वो गलिया“ र “आवरपन–बंजारापन“ गीतहरू धेरै हिट भए ।

उहाँले एल्बम पलबाट उनले सांगीतिक करियरको प्रारम्भ गर्नु भएको थियो । बजरंगी भाइजानको गीत तु जो मिला, ओम शान्ति ओमको अजब सी, वो लम्हेको क्या मुझे प्यार है, रेडीको हमको प्यार हुवा, पल एल्बमको पल, काइट्सको दिल क्यों ए मेरा, भूल भूलैयाको लबों को, द ट्रेनको बिते लम्हे, हम दिल दे चुके सनमको तडप तडप, दसको दस बहाने लगायत उहाँका चर्चित गितहरु हुन् ।

Facebook Comments