Thu. Apr 25th, 2024

चिनी उद्योगले भुक्तानी नगरेपछि सर्लाहीका उखु किसानद्वारा पुनः आन्दोलनको घोषणा

सर्लाही, २०७६ माघ ८ गते बुधबार

सरकारसँग गरेको प्रतिवद्धता अनुसार चिनी उद्योगले भुक्तानी नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन् ।

उखु किसान सङ्घर्ष समितिले बुधबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी उखुको बाँकी बक्यौता रकम लिन पुनः आन्दोलनमा उत्रने घोषणा गरेको हो । माघ ९ गतेसम्म पूरा भुक्तानी नपाए जिल्लाका उखु किसान चरणबद्ध आन्दोलनमा उत्रिने भएका छन् ।

आन्दोलनको कार्यक्रम अनुसार किसानले माघ १० गते कालोपट्टी बाँधेर खेतमा काम गर्ने, ११ गतेदेखि १७ गतेसम्म गाउँ–गाउँमा जनजागरण अभियान सञ्चालन गर्ने र माघ १८ गते गोडैता बजारमा उखुको रकम भुक्तानी पाउन बाँकी रहेका किसानको भेला गरी काठमाडौं केन्द्रित आन्दोलनको स्वरुप र मिति तय गर्ने उल्लेख छ । पत्रकार सम्मेलनमा उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले सरकारसँग प्रतिबद्धता जनाएपछि पनि चिनी उद्योगीले पैसा नदिँदा उखु किसान निराश भएको बताउनुभयो ।

उहाँले उखु किसानलाई पुनः काठमाडौं गएर आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिन सरकारसँग आग्रह समेत गर्नुभयो । गोरखापत्र अनलाईनका अनुसार सर्लाहीका तीन चिनी उद्योगमध्ये अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम र महालक्ष्मी चिनी उद्योग बगदहले अघिल्ला वर्षहरुमा विक्री गरेको उखुको पैसा नदिएपछि किसानहरु पटक-पटक आन्दोलित हुँदै आएका छन् ।

जिल्लामा जति पटक आन्दोलन गरे पनि पैसा नपाएपछि जिल्लाका किसानले गत पुसमा काठमाडौं पुगेर आन्दोलन गरेका थिए । त्यसबेला सरकारले पुस १८ गते पाँच बुँदे सहमति गर्दै उखु किसानलाई माघ ७ गतेसम्म पुरानो बक्यौता सबै चुक्ता गर्ने प्रतिवद्धतासहित उखु किसानलाई घर फर्काएको थियो ।

सो सहमतिपछि अन्नपूर्ण चिनी उद्योगले किसानलाई ४२ करोडमध्ये तीन करोड ९० लाख रुपियाँ र महालक्ष्मी चिनी उद्योगले २१ करोड ४० लाख रुपियाँमध्ये ११ करोड ५० लाख रुपियाँ भुक्तानी गरेको छ । विगत तीन÷चार वर्षदेखिको भुक्तानी नगरेको अन्नपूर्ण चिनी उद्योग यस वर्ष सञ्चालन हुन सकेको छैन भने महालक्ष्मी चिनी उद्योग केही साता अघिबाट सञ्चालनमा आइसकेको छ ।

Facebook Comments