Fri. Oct 18th, 2024

स्वीजरल्याण्डबाट प्राप्त हुने करिब ८६ करोड १३ लाख अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाण्डौं, २०७९ जेठ ९ गते सोमबार । सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनः एकीकरण आयोजनाको लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने स्विस फ्रैंक करिब ८६ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विश्व बैङ्कबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब ऋण सहायता सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यसैगरी सरकारले नेपाल राष्ट्र बैङ्क नोट धुल्याउने नियमावली, २०७९ बनाउन स्वीकृति दिने निर्णय गरेको छ ।

सरकारले सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा र प्रहरी नायव महानिरीक्षक वसन्त कुमार लामालाई नेपाल प्रहरीको जनपद प्रहरी समूहको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।

सरकारले थाइल्यान्डको बैंककमा हुने युनिस्क्यापको ७८ औँ सत्रमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा.दिलबहादुर गुरुङ नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

फिनल्यान्डसँग हुने द्विपक्षीय परामर्श संयन्त्रका बैठकहरूमा भाग लिन परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

सरकारले वन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । सुर्खेत भेरीगंगा विमानस्थल निर्माणका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

यसैगरी सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा सफलतापूर्वक सम्पन्न गरेको निर्वाचन अयोग, राजनीतिक दल, मतदाता, सुरक्षा निकाय लगायतलाई धन्यवाद दिएको छ । रेडियो नेपाल

Facebook Comments