Sat. Apr 20th, 2024

अबुधाबीमा अठार नेपाली कामदार चढेको बस दुर्घटना, तीन नेपालीको ज्यान गयो

काठमाडौं, २०७६ माघ ७ गते मंगलबार

संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा बिहीबार बिहान भएको बस दुर्घटनामा तीन जना नेपालीसहित छ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यूएईस्थित नेपाली राजदूतावासले बस दुर्घटनामा ज्यान गुमाउनेमा प्युठानकी भावना कुँवर, झापाकी कृष्णकुमारी अधिकारी, बारा घर भएकी अमिसा मोक्तान तामाङ रहेको जनाएको छ । यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला श्रमिक बोकेको मिनिबस बिहीबार बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।

गोरखापत्र अनलाईनका अनुसार अन्य ज्यान गुमाउनेमा बसका चालक एक पाकिस्तानी पुरुष, एक जना श्रीलङ्काली र एक जना अफ्रिकी महिला श्रमिक रहेका जनाइएको छ । दुर्घटनामा घाइते भएकाको युएईका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काममा जान २४ जना श्रमिक बसमा चढेका थिए । घाइते १४ जनामध्ये पाँच जनाको आबुधाबीको खालिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा इलामकी सीता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै घाइते पाँच जनाको यूएईकै माफ्राक अस्पतालमा उपचार भइरहेको छ । मकवानपुरको टिस्टुङ पालुङकी रीता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्तीमगर र सुजला विश्वकर्माको ठेगाना नखुलेको बताइएको छ । त्यही अस्पतालमा उपचारत चितवनकी निर्मला प्रजा सामान्य उपचारपछि बिहीबार साँझ नै कम्पनीको क्याम्प फर्किनुभएको छ ।

त्यस्तै अलरहा अस्पतालमा मकवानपुर हेटौँडाकी मीना सिंह, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा उपचाररत हुनुहुन्छ । घाइते १२ जनाको अवस्था सामान्य रहे पनि नुवाकोटकी सरिता तामाङको अवस्था भने गम्भीर रहेको अस्पताललाई उद्धृत गर्दै दूतावासले जनाएको छ ।

उपचाररत नेपालीलाई भेट्न राजदूत कृष्णप्रसाद ढकालसहितको टोली अस्पताल गएको थियो ।

Facebook Comments