Fri. Apr 19th, 2024

उपत्यकाव्यापी ‘लेट्स डान्स’ को चौथो संस्करण भव्य रुपमा सम्पन्न

काठमाडौं, २०७६ माघ ६ गते सोमबार

अमर कला केन्द्र कालिमाटीद्वारा आयोजित उपत्यकाव्यापी ‘लेट्स डान्स’ को चौथो संस्करण सम्पन्न भएको छ । काठमाडौको राष्ट्रिय नाचघरमा गत शुक्रवार अन्तिम प्रतिस्पर्धापछि चौथो संस्करण सम्पन्न भएको हो ।

चार सय जना सहभागीबाट पाँच चरण पार गरी अन्तिम प्रतिस्पर्धामा पच्चीस जना सहभागी भएकामा पाँच जना पुरस्कृत भएका आयोजकको भनाइ छ ।

प्राप्त जानकारी अनुसार पाँच जना पुरस्कृत मध्ये भक्तपुरबाट सहभागी तीन जनाले पुरस्कार हात पार्न सफल भएका छन् । जसमध्ये प्रसन्ना श्रेष्ठले थर्ड रनर अप हुँदै तक्मा, शिल्ड, प्रमाणपत्रका साथै पाँच हजार रुपियाको चेक समेत प्राप्त गर्न सफल हुनु भएको छ । उहा दुवाकोट स्थित प्रज्ञा इङ्लिस स्कूलकी विद्यार्थी हुनुहुन्छ ।

त्यसैगरी सेकेन्ड रनर अप हुन सफल सन्जु तामाङ् थिमीस्थित लर्डबुद्धकी विद्यार्थी हुनुहुन्छ । उहाले सेकेन्ड रनर अप हुँदै तक्मा, शिल्ड,प्रमाणपत्रका साथै पन्ध्र हजार रुपियाको चेक प्राप्त गर्नुभयो ।

उक्त प्रतियोगितामा फस्ट रनर अप पनि भक्तपुरकै सगुन श्रेष्ठ हुनुभयो । सगुन थिमीस्थित नवरत्न इङ्लिस स्कूलमा कक्षा ८ मा अध्ययनरत छात्रा हुनुहुन्छ । उहाँ भरत नाट्यमको बेसिक लेभलमा उत्कृष्ट नृत्य गर्दै फस्ट रनर अप हुन सफल हुनुभएको हो । सगुनले फस्ट रनर अप हुँदै तक्मा, शिल्ड,प्रमाणपत्रका साथै पच्चीस हजार रुपियाको चेक प्राप्त गर्नुभयो ।

कलाकारद्वय महेश गोदार र प्रशान्त तामाङ्ग निर्णायक रहेको उक्त प्रतियोगितामा चौथो रनर अप काठमाडौंकी रश्मी विष्ट बन्नु भएको थियो । त्यस्तै प्रतियोगिताको टाइटल बिजेताको उपाधि काठमाडौंकी दीपिका मगरलाई दिइएको थियो । दीपिकाले तक्मा, शिल्ड,प्रमाणपत्रका साथै पचास हजार रुपियाको चेक प्राप्त गर्नुभयो ।

सो समारोहमा प्रमुख अतिथीको रुपमा उस्थित हुनुभएका संघीय संसदका सांसद रामकुमारी झाँक्रीले मानिसका भावनालाई प्रस्फुटन गर्ने बिबिध विधा तथा माध्यमहरु मध्ये गीत संगीत एक उत्कृष्ट माध्यम भएको बताउनु भयो । पिक्सेल टिभी नेपालका निर्देशक उद्धव बोगटीका अनुसार सांसद झाँक्रीले राष्ट्र तथा जनताका हरेक परिवर्तनमा गीत, संगीतले अत्यन्त महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताउदै जीवनलाई सुन्दर बनाउने तत्व भनेको साहित्य, संगीत र कला हो भन्नु भयो । उपत्यकाव्यापी ‘लेट्स डान्स’ प्रतियोगिताको उच्च मूल्यांकन गर्नुहुँदै वहाँले यस्ता प्रतियोगिताहरुको माध्यमबाट समाजमा लुकेर बसेका प्रतिभाहरुलाई उजागर गर्दै राष्टिय तथा अन्तर्राष्टिस्तर सम्म पुग्न मद्दत गर्ने पनि बताउनु हुदै कार्यक्रमको आयोजनाको लागि अमर कला केन्द्र कालिमाटीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

समारोहमा बोल्नु हुँदै निर्णायकद्वय प्रशान्त तामाङ र महेश गोदारले संगीतले क्षणिक मनोरञ्जन दिनेमात्र नभएर यसले चीरस्थायी रुपमा आनन्द समेत दिने बताउनु भयो । साथै वहाँहरुले मुलुकको पहिचानसँग जोडिएर आउने यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्नेमा जोडदिनु भयो ।

‘लेट्स डान्स’ का परिकल्पनाकार राज श्रेष्ठले आउने दिनहरुमा यो कार्यक्रमलाई देशव्यापी बनाउने लक्ष्य लिईएको जानकारी दिनु हुदै कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Facebook Comments