Sun. May 19th, 2024

कीर्तिपुरमा अत्याधुनिक अल्ट्रासाउन्ड सेवा सुरु

काठमाण्डौं, २०७८ चैत २६ गते शनिबार । कीर्तिपुरमा अत्याधुनिक मेसिनसहितको अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । कीर्तिपुरको पाँगादोबाटो नजिकै कीर्तिपुर अल्ट्रासाउन्ड क्लिनिकले सो सेवा सुरु गरेको हो ।

आज बिहान एक अनौपचारिक कार्यक्रमकाबीच कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सो क्लिनिकको शुभारम्भ गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख महर्जनले क्लिनिकको व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो । कीर्तिपुरमा अत्याधुनिक मेसिनसहितको अल्ट्रासाउन्ड सेवा सुरु हुनु आफैमा सुखद् रहेको उहाँले बताउनु भयो । स्थानीय तहले यस्तो सेवा दिन नसकिरहेको अवस्थामा निजी क्षेत्रले सुरु गरेकोमा खुसी व्यक्त गर्दै नगरपालिकाले भरपूर सहयोग र प्रवद्र्धन गर्ने उहाँले आश्वासन दिनुभयो ।

अब कीर्तिपुरमा स्वास्थ्य पर्यटनको सम्भावना रहेको पनि उहाँले बताउनुभयो । कीर्तिपुर अस्पतालले राम्रो र उत्कृष्ट सेवा दिइरहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रका सबै स्वास्थ्य केन्द्रहरुको समन्वय गरी स्वास्थ्य पर्यटनको विकास गर्न आवश्यक रहेको बताउनु भयो । विरामी र विरामीका आफन्तहरु आउने क्रम बढेको र चहलपहल बढेको भन्दै स्वस्थ र सुलभ होटल सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनु भयो । उहाँले नगरबासीलाई विरामी भएर उपचार गराउने सेवा दिनु भन्दा पनि नगरपालिकाले प्रिभेन्टिभ स्वास्थ्य सेवामा काम गरिरहेको सुनाउनु भयो । नगरपालिकाले स्वाथ्य जीवनशैली प्रवद्र्धनमा काम गरिरहेको उहाँले बताउनु भयो ।

कीर्तिपुर अल्ट्रासाउन्ड क्लिनिकका सञ्चालक डा. मनोजमान श्रेष्ठले क्लिनिकले हरेक दिन सेवा दिने जानकारी दिनुभयो । कीर्तिपुरका विरामीलाई बाहिर गएर खर्चिलो र झण्झटिलो सेवा लिन नपरोस् भन्ने उद्देश्यले कीर्तिपुरमै अल्ट्रासाउन्ड क्लिनिक सुरु गरेको उहाँले बताउनु भयो । नेपालका अन्य कुनै पनि हस्पिटलमा यस्तो अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन नभएको पनि उहाँले जानकारी दिनुभयो । पैसा तिर्न नसक्ने र गरिबको सिफारिस भएर आएका विरामीलाई क्लिनिकले निःशुल्क सेवा दिने पनि उहाँले बताउनु भयो । क्लिनिक वा हस्पिटलसम्म पुग्न नसक्ने विरामीका लागि पोर्टेबल मिसिनद्वारा घरघरमै पनि सेवा दिने तयारी भइरहेको उहाँले बताउनु भयो । यसैगरी कसैले स्वास्थ्य शिविर सञ्चालन गरे त्यहाँ निःशुल्क अल्ट्रासाउन्ड सेवा दिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमका बोल्दै क्लिनिकका सञ्चालक डा. सागर गोपालीले कीर्तिपुरमा राम्रो अल्ट्रासाउन्डको सेवा नभएकोले नै नयाँ सेवा सुरु गरेको बताउनु भयो । क्लिनिकले स्थानीयलाई सेवा दिने मुख्य उद्देश्य लिएको पनि उहाँले बताउनु भयो । क्लिनिकमा डा. मनोजमान श्रेष्ठले पनि हप्तामा एक/दुई पटक सेवा दिने र आफू निरन्तर रहने जानकारी गराउनु भयो ।

कीर्तिपुरमा यसअघि अल्ट्रासाउन्डको नियमित र आधुनिक सेवा थिएन । जसका कारण स्थानीयवासीले सेवा लिन कीर्तिपुर बाहिर जानुपर्ने बाध्यता थियो । अब सो समस्या समाधान हुने स्थानीयले बताएका छन् । कीर्तिपुरमै निःशुल्क र सर्वसुलभ रुपमा अल्ट्रासाउन्ड सेवा पाउने भएपछि स्थानीय उत्साहित देखिएका छन् ।

Facebook Comments