Sat. Apr 20th, 2024

एमसीसीलाई तत्काल संसदद्वारा अनुमोदन गर्न नेपाली काँग्रेसको जोड

काठमाडौं, २०७६ माघ ४ गते शनिबार

नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधि सभाको आगामी माघ ६ गते बस्ने बैठकलाई सुचारु गर्दै सोही बैठकबाट सभामुख निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न सरकारसँग माग गरेको छ ।
कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा दल कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

गोरखापत्र अनलाईनका अनुसार बैठकले गएको पुस ४ गतेबाट सुरु भएको संसद् अधिवेशन लगभग एक महिना बितिसक्दा पनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधि सभा बैठक अवरुद्ध भइरहनु सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको घोर अकर्मण्यताको परिणाम भएको निष्कर्ष पनि निकालेको छ । बैठकले लामो प्रक्रिया पार गर्दै नेपालको हितमा कार्यान्वयनको दिशामा अगाडि बढेको अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई तत्काल संसद्बाट अनुमोदन गर्न जोड दिएको छ ।

बैठकको निर्णयमा भनिएको छ, “यस विषयमा कतिपय सञ्चार माध्यमबाट पार्टी सभापति एवम् दलका नेता शेरबहादुर देउवा र कांग्रेसका कतिपय सांसद तथा नेताबाट आएको भनिएको यसविरुद्धको अभिव्यक्ति भ्रमपूर्ण र कपोकल्पित छन् । यस सम्झौतालाई यथाशीघ्र सदनबाट अनुमोदन गर्ने पक्षमा नेपाली रहेको पुनः स्मरण गराउन चाहन्छौं ।” बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक बालकृष्ण खाणले भन्नुभयो, “संसद्मा अल्पमतमा रहँदा विभिन्न वहानामा संसद् अवरोध गर्ने र स्पष्ट बहुमत रहँदा आफूहरुबीचको आन्तरिक विवादलाई केन्द्रीय विषय बनाएर संसदीय परिपाटीको धज्जी उडाउने क्रियाकलापबाट नेकपाको संसदीय व्यवस्थाप्रतिको आस्थामा गम्भीर प्रश्न चिह्न खडा भएको छ ।”

यस्तो कार्यप्रति कांग्रेसले दल घोर आपत्ति प्रकट गर्दै तत्काल प्रतिनिधि सभाको बैठकको सञ्चालन गर्न माग गरेको छ । यसैगरी, नेपालको संविधानको धारा ९१ को उपधारा (२) बमोजिम सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाप्रति दलीय दृढता दाहोर्याउँदै कांग्रेसले सोही मुताविक गर्न जोडदार माग पनि गरेको छ । बैठकले माघ ९ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानको रक्षाका निम्ति कांग्रेसका उम्मेदवारका पक्षमा मदतान गर्न अन्य राजनीतिक दल र मतदातालाई आग्रह पनि गरेको छ ।

Facebook Comments