Wed. May 29th, 2024

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारतको नयाँ दिल्लीमा

काठमाण्डौं, २०७८ चैत १८ गते शुक्रबार । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । चारजना मन्त्रीसहित ५० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि नयाँ दिल्ली पुग्नुभएको हो ।

प्रधानमन्त्री देउवालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गर्नुभयो । प्रधानमन्त्री देउवासहितको भ्रमण टोली नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को विमानमार्फत भारत गएको हो । प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि हुनुहुन्छ ।

प्रधानमन्त्रीको भ्रमणको कार्यतालिका यस्तो छ :

प्रधानमन्त्री देउवासँग अपराह्न ४:३० बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरले दिल्लीस्थित होटल मौर्यमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भोली (शनिबार) बिहान ११ः१० बजे प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुनेछ। सो भेट हैदरावाद हाउसमा हुने तय भएको छ।

शनिबार बिहान १०:४० बजे प्रधानमन्त्री देउवाले राजघाट पुगेर महात्मा गान्धीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ भने प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ११:१० बजे हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ ।

मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा मध्याह्न १२:१५ बजे नेपाल-भारतको द्विपक्षीय बैठक बस्ने र दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको छ। देउवा र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

त्यस्तै अपराह्न १६:३० बजे प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति नायडुसँग मौलाना आजाद रोडस्थित उपराष्ट्रपति निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम निर्धारण भएको छ ।

प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्नुहुनेछ भने अपराह्न ४:०० बजे वाराणसीबाट नयाँ दिल्ली फर्किने कार्यक्रम रहेको छ ।

उहाँ अपराह्न ४:१५ बजे काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम तयार गरिएको छ ।

Facebook Comments