Sat. Apr 20th, 2024

यस्तो पनि क्याम्पस जहाँ विद्यार्थी छैनन्, पढाइ छैन, वर्षमा तीनपटक हाजिर

सिमकोट, २०७६ पुष २९ गते मंगलबार

सुन्दा पत्याउन कठिन हुन्छ तर वास्तविकता यही हो । हुम्ला जिल्लामा स्थापना भएको सर्केगार्ड बहुमुखी क्याम्पसमा विद्यार्थीहरु एक वर्षमा तीन पटक मात्र आउने गर्दै आएका छन् ।

सामुदायिक क्याम्पस भएको कारण स्राेत समस्याका कारण शिक्षकहरुको व्यबस्था नहुनु र विद्यार्थी पनि क्याम्पसमा अध्ययन गर्न नआउने भएकाले कक्षाहरु सुचारु नभएको बताइएको छ । गोरखापत्र अनलाईनका अनुसार शिक्षा संकायको स्नातक तह तेस्रो वर्षमा अध्ययन गर्दै आउनुभएका छात्र पवन शाहीले क्याम्पसमा पढाई नहुने भएपछि क्याम्पस नगएरै परीक्षा दिने गरिएको बताउनुभयो । उक्त संकायमा तेस्रो वर्षमा ३५ जना विद्यार्थी भएकोमा उनीहरु मध्य कतिले क्याम्पसमा पाइला समेट टेकेका छ्रनन् । पहिलो वर्षमा तीनजना, दोस्रोमा चारजना र चौथो वर्षमा चारजना विद्यार्थी भर्ना भएका थिए ।

पढाई नहुने भएपछि घरमा पढ्ने वा ‘चिट’का भरमा परीक्षा दिने शाहीले बताउनुभयो । उक्त क्याम्पसमा व्यवस्थापन विषयको पनि अध्ययन हुने गरेको भए पनि हाल सो विषयमा कुनै विद्यार्थीले भर्ना गरेका छैनन् । भवन भए पनि जहिले पनि बन्द रहने गर्दछ । क्याम्पसका लागि एकजना पनि शिक्षकको व्यवस्था नभएको हिमज्योति माध्यामिक विद्यालयका शिक्षक कविदत्त ढकालले बताउनुभयो । उहाँले विद्यार्थीको फाराम लगाउने कार्य समेत गर्दै आउनुभएको छ । वार्षिक भर्ना शुल्क र परीक्षा दस्तुर गरी एकमुष्ट १२ हजार रुपियाँ विद्यार्थीले बुझाउने गरेको र विद्यार्थी भर्ना, परीक्षाको फाराम भर्न र परीक्षाका बेला मात्र क्याम्पसमा आउने गरेको उहाँले जनाउनुभयो ।

शिक्षकको व्यवस्था नभएकाले विद्यार्थी क्याम्पस नआउनु अस्वभाविक नभएको उहाँको भनाइ छ । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको उपस्थिति ७५ प्रतिशत हुनुपर्ने हो तर एकदिन पनि उपस्थिति नभएरै परीक्षामा सामेल गर्ने गरिएको उहाँले बताउनुभयो । उक्त क्याम्पसको व्यवस्थापन समितिमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावत अध्यक्ष हुनुहुन्छ । क्याम्पस प्रमुखमा ठानबहादुर रोकाया हुनुहुन्छ । उहाँहरु दुबै जना २०७४ सालमा सम्पन्न निर्वाचनमा प्रदेशसभा अन्तर्गत ‘क’ नम्बर क्षेत्रका प्रत्यासी हुनुहुन्थ्यो । अध्यक्ष रावल विजयी हुनुभयो भने क्याम्पस प्रमुख रोकाया पराजित हुनुभयो ।

श्रोत जुटाउने र व्यवस्था गर्नेतर्फ कसैको ध्यान जान नसकेका कारण क्याम्पसको यो हालत भएको स्थानीय मदन शाहीले दुःखेसो पोख्नुभयो ।

Facebook Comments