Fri. Oct 18th, 2024

मूल्यवृद्धि नियन्त्रणमा प्रतिबद्ध रहेको मन्त्री भुसालको भनाई

काठमाण्डौं, २०७८ फागुन २८ गते शनिबार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । गोदावरी नगरपालिकाको छैटौं स्थापना दिवस एवं नवनिर्मित प्रशासनिक भवन उद्घाटनका क्रममा शुक्रबार आयोजित कार्यक्रममा उहाँले महँगीले दैनिक भान्छा चलाउन कठिनाई भएको प्रसंग उल्लेख गर्दै यसको नियन्त्रण आवश्यक रहेको बताउनु भयो । सो नगरपालिकाले गएको पाँच वर्ष राम्रोसँग काम गरेको उहाँको भनाइ थियो ।

सांसद नवराज सिलवालले सो क्षेत्र विकास निर्माणका हिसाबले काठमाडौं उपत्यकाको कर्णालीका रुपमा रहेको बताउँदै सरकारले उक्त ठाउँका लागि केही लगानी बढाउनुपर्ने बताउनु भयो ।

नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भौगोलिक रुपमा सो नगरपालिका उपत्यकाको ठूलो रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा १४ वडाध्यक्षलगायत कार्यापालिका सदस्य र कर्मचारीलाई सम्मान गरिएको थियो । सात तले अत्याधुनिक साथै मौलिक तथा कलात्मक ढङ्गले निर्माण सम्पन्न भएको सो भवन वज्रवाराही माविले उपलब्ध गराएको जमिनमा बनेको छ । भवन निर्माणका लागि हालसम्म लगभग २५ करोड रुपैयाँ रकम खर्च भइसकेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताउनु भयो । कान्तिपुर अनलाईन

Facebook Comments