Wed. May 8th, 2024

उत्खनन्‌को विरोध गर्न गएका युवाको टिपरले किचेर मृत्यु

काठमाडौं, २०७६ पुष २५ गते शुक्रबार

धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा अवैध उत्खनन् भएको भन्दै आवाज उठाउने युवाको टिपरले किचेर मृत्यु भएको छ ।

शुक्रबार बिहान ४ बजे मर्निङ वाकमा निस्किएका स्थानीय २४ बर्षका यु्वा दिलिपकुमार महतोको टिपरले किचेर हत्या गरिएको स्थानीयले आरोप लगाएका छन् । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।

गोरखापत्र अनलाईनका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रमेश बस्नेतले टिपरले किचेर स्थानीय दिलिपकुमार महतोको मृत्यु भएको बताउनुभयो । उहाँको हत्या भएको हो वा दुर्घटनाबाट मृत्यु भएको भन्नेबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न मृतक सक्रिय रहँदै आएका थिए । उत्खननको विरोध गर्ने युवकलाई ना.७ ख ६४१३ नम्बरको टिपरले किचेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घट्नाको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिकाको ढल्केबरका स्थानीयहरुले एक घन्टा सडक अवरोध समेत गरेका थिए । अहिले यातायात सुचारु भैसकेको छ ।

Facebook Comments