Sun. Nov 17th, 2024

७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा सम्बोधन, लोकतान्त्रिक विधि र पद्धतिप्रति सबै प्रतिबद्ध हुन आग्रह

काठमाण्डौं, २०७८ फागुन ७ गते शनिबार । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गर्न लोकतान्त्रिक विधि र पद्धतिप्रति सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ ।

७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले सहिदले परिकल्पना गरे अनुसारको सुन्दर, समृद्ध र समतामूलक समाज निमार्ण गर्न सरकार, नागरिक समाज, प्रतिपक्षी दल, दातृ निकाय सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आगामी स्थानीय तहको निर्वाचन र त्यस लगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने बताउनुभयो  ।

उहाँले जन निर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई थप सुदृढ गर्दै लैजानु पर्नेमा जोड दिनुभयो ।

 उहाँले २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति भएका संरचनाको नवनिर्माण र पुनर्निर्माणको कार्य पूरा हुन नपाउँदै कोभिड-१९ को महामारीको प्रकोपलाई सामना गर्न परिरहेको भन्नुहुँदै सबैको समन्वयात्मक प्रयासबाट कोभिडलाई छिट्टै परास्त गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गर्नुभयो

प्रधानमन्त्री देउवाले  २००७ मा प्रजातन्त्र प्राप्तिका लागि भएको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्त्व राख्ने क्रान्ति हो भन्दै यसैको जगमा त्यसपछि विभिन्न क्रान्ति सम्पन्न भई आज लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन प्रणालीसम्मको यात्रा पूरा भएको स्मरण गराउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासन अन्त्य भई जनताको हक अधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्नाका लागि विसं २००७ मा आजकै दिन प्रजातन्त्रको घोषणा भएको उल्लेख गर्दै आजका दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हक अधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा इतिहासमा स्मरणीय भएको उल्लेख गर्नुभयो ।

Facebook Comments