बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सुरु
काठमाण्डौं, २०७८ माघ १५ गते शनिबार । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको हो।
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्य किरणका अनुसार सत्ता गठबन्धनका शीर्ष नेताको बैठक भर्खरै सुरु भएको हो।
‘सत्ता गठबन्धनका शीर्ष नेताको छलफल जारी छ’, किरणले भन्नुभयो, ‘बिहान स्थगित भएको बैठक नै अहिले फेरि बसेको हो। बैठकमा आगामी निर्वाचन र गठबन्धनको रणनीतिका विषयमा छलफल हुँदैछ।
शनिबार बिहानको बैठकले अपराह्न कानुनविद्सँग छलफल गर्ने तय गरेको थियो। अहिले भने सत्ता गठबन्धनका शीर्ष नेता मात्र बालुवाटार पुग्नुभएको छ।
सत्ता गठबन्धनले यसअघि आगामी निर्वाच्न स्थानीय तहको निर्वाचन सम्बन्धमा कानुनविद्सँग् छलफल गरेको थियो। संविधानको धारा २२५ र स्थनीय तह सम्बन्धी ऐन, २०७३ बाझिएपछि कानुनविद्ले संविधान बमोजिमको कानुन बनाउनुपर्ने सुझाव दिएका थिए।
बालुवाटारको छलफलमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्छ। गोरखापत्र अनलाईन