Sun. Nov 17th, 2024

शिक्षामन्त्री पौडेलद्वारा समयमै नतिजा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन

काठमाण्डौं, २०७८ माघ ११ गते मंगलबार ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ । मङ्गलवार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्नुभएका सहकुलपति पौडेलले यो अथवा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिनुभयो ।

‘कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौँ भन्ने विद्यार्थीको गुनासो छ,’ सहकुलपति पौडेलले भन्नुभयो, ‘नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो फास्ट ट्र्याकबाट नतिजा निकाल्नुस् ।

सामान्यतया परीक्षा भएको ३ महिनापछि नतिजा आउने भएपनि ६ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा निकालेको छैन । अनुगमनका क्रममा मन्त्री पौडेललाई जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी गराउनुभयो ।

‘जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भएपनि समयमा सेवाग्राहीको काम हुनपर्‍यो’ मन्त्रीले भन्नुभयो ।

देशकै ठूलो विश्वविद्यालयमा पुरानो प्रणाली रहेको भन्दै यसको सुधारका लागि नयाँ योजना बनाउन प्रशासनसँग मन्त्रीले आग्रह गर्नुभयो ।

‘मार्कसिट विद्यार्थीलाई दिने कुरालाई सिस्टममा तत्काल लैजानुस्’ मन्त्री पौडेलले भन्नुभयो, ‘देशको ठूलो विश्वविद्यालय नयाँ प्रविधिसँग जोडिएन भने अन्य विश्वविद्यालयले के सिक्छन् ?’

‘विद्यार्थीहरूको मानविकी सङ्कायमा धेरै गुनासो छ, सम्बोधन गर्नुहोस्,’ मन्त्री पौडेलले भन्नुभयो, ‘जनशक्ति थप्ने हाम्रो काम हो सेवाग्राहीलाई त्यो थाहा हुँदैन । गुनासो कम आउने गरी काम गर्नुहोस् ।’

विश्वविद्यालय सिस्टममा नभएको भन्दै भौतिक संरचना एवम् विद्यार्थीलाई दिने सेवा प्रविधिमन्त्री हुनुपर्नेमा जोड दिनुभयो ।

सोही क्रममा परीक्षा नियन्त्रक जोशीले पर्याप्त जनशक्ति भए परीक्षापछिको तीन महिनाभित्र रिजल्ट निकाल्ने बताउनुभयो । उहाँले पुराना कर्मचारी रिटायर हुँदा नयाँ कर्मचारीले सिस्टम सिक्ने एक वर्ष लाग्ने जोशीको भनाइ छ । उहाँले परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारी हुनुपर्नेमा १३७ जनाले काम गरिरहेकाले समयमै नतिजा दिन नसकेको स्वीकार गर्नुभयो । रेडियो नेपाल

Facebook Comments